दसैँका लागि नयाँ कपडा किन्दै हुनुहुन्छ ? कसरी चिन्ने ब्रान्डेड कपडा ?

दसैँका लागि नयाँ कपडा किन्दै हुनुहुन्छ ? कसरी चिन्ने ब्रान्डेड कपडा ?


काठमाडौँ ।

दसैँको बेलामा प्राय सबैले नयाँ लुगा किन्ने गरेका हुन्छन् । तर, जानकारीका अभावमा ब्रान्डेड कपडा भनेर मानिसहरू ठगिने गर्छन् ।

ब्रान्डेड कपडाहरूको पहिचान कपडाको ट्यागबाट गर्न सकिन्छ, तर आजभोलि अन्य नक्कली ब्रान्डहरू पनि सक्कली ब्रान्डको ट्याग लगाएर कपडा बेच्ने गर्छन् ।

यस्तोमा कुन नक्कली र कुन सक्कली कपडा हो भनेर छुट्टयाउन गाह्रो हुने गर्छ । तर, यस्ता कपडा चिन्नका लागि थोरै विचार पुर्‍याए मात्र पनि पुग्छ । किनकि ब्रान्डेड कपडाहरूको आफ्नो छुट्टै पहिचान हुन्छ जसले गर्दा कुन कपडा ब्रान्डेड हाे भनेर सजिलै थाहा पाउन सकिन्छ ।

धेरैजसो सक्कली ब्रान्डका कपडाको भित्री भागमा आफ्नो ट्याग लगाइएकाे हुन्छ, जसले कपडाको गुणस्तर जनाउँछ । कपडा किन्नुभन्दा पहिले कुन ठाउँबाट किन्दै हुनुहुन्छ, त्यो कुरा पनि ध्यान दिनुपर्छ ।

किनभने धेरैजसो ब्रान्डेड कम्पनीहरू आफ्नो आधिकारिक स्टोरहरूबाट मात्र कपडा बेच्ने गर्छन् । कपडा लिनुपूर्व कपडालाई लगाएर हेर्ने । अन्य ब्रान्डभन्दा ब्रान्डेड कपडाको फिटिङ राम्रो हुन्छ ।

नक्कली ब्रान्डका कपडा सक्कली ब्रान्डभन्दा कडा र रफ हुन्छन् भने सक्कली कपडाहरू फ्रेस र कोमल हुन्छन् । ब्रान्डेड कपडामा धेरै छुट हुँदैन । यदि कुनै ठाउँमा ब्रान्डेड कपडामा धेरै नै छुट दिइएको छ भने सो कपडा नक्कली ब्रान्डको हो भनेर बुझ्नुपर्ने हुन्छ ।

ब्रान्डेड कपडाको भित्री भाग निकै राम्रो गुणस्तरको हुन्छ । जस्तै कोटको भित्री कपडा, जिन्स प्यान्टको खल्तीको कपडा राम्रो गुणस्तरको हुन्छ र सिलाइ पनि मजबुत र राम्रो हुन्छ । ब्रान्डेड कपडामा बटन, जिपर आदि राम्रो गुणस्तरको लगाइएको हुन्छ ।

ब्रान्डेड कपडामा सिलाइ सीधा हुन्छ, सबै कपडामा सिलाइ बराबर र एकनासको हुन्छ । यदि कपडा मोटो छ भने डबल सिलाइ गरिएको हुन्छ र धागोको रङमा पनि ध्यान दिइएको हुन्छ ।

कपडा अलिकति महँगो भए पनि गुणस्तरीय हुन्छन् । बजारमा ब्रान्डका नाममा बेचिने लुगा नक्कली (कपी) पनि हुन सक्छन् ।

ब्रान्डेड कपडा यसरी चिन्न सकिन्छ :

-स्टिचिङमा ध्यान दिएर ब्रान्डेड कपडा चिन्न सकिन्छ । कपडाको स्टिचिङ सीधा, सफा र समान हुन्छ । स्टिचिङमा धागो पनि एकनासे प्रयोग गरिएको हुन्छ ।

-कपडाको जिप वा चेन पनि राम्रो गुणस्तरको हुन्छ । कपडाको पहिचान गर्न लुगामा रहेको चेन खोल्ने र बन्द गर्ने गर्नुपर्छ । यसो गरेर कपडा सक्कली भएको अथवा कपी भएको थाहा पाउन सकिन्छ । धेरैजसो कपडाको चेनमा ब्रान्डको नाम लेखिएको हुन्छ ।

-बटनबाट पनि कपडा कपी भएको थाहा पाउन सकिन्छ । बटनमुनि रहेको पेचमा ब्रान्डको नाम लेखिएको छ भने त्यो सक्कली हो । कपी कपडामा साधारण बटन हुन्छ ।

-लोगोबाट पनि कपडाको पहिचान गर्न सकिन्छ ।