चाडपर्वका नाममा विकृति बढेकामा चिन्ता छ : उपप्रमुख अधिकारी

चाडपर्वका नाममा विकृति बढेकामा चिन्ता छ : उपप्रमुख अधिकारी


काठमाडौँ ।
काठमाडौंको नागार्जुन नगरपालिका अहिले दसैँ लक्षित बजार अनुगमन र सौर्यन्दर्यकरणको काममा व्यस्त छ । दसैँका नाममा व्यापारीबाट उपभोक्ता नठगिऊन भनेर हरेक पसलमा मूल्य र गुणस्तरको चेकजाँच गरिरहेको छ ।

नगरपालिकाको बजार अनुगमन संयोजक रहेकी उपमेयर सुशीला अधिकारी अहिले अधिकांश समय बजार क्षेत्रमा अनुगमन गर्दै गर्दाको अवस्थामा भेटिन्छिन् । नागरिकको गुनासो प्राप्त हुनासाथ अनुगमनमा पुगिहाल्ने उनको दैनिकी नै बनेको छ ।
उनै उपमेयरसँग हामीले दसैँ लक्षित पालिकाको योजना तथा उपमेयरको व्यक्तिगत योजनाका बारेमा विकास टाइम्स म्यागजिनको यो विशेष अंकका लागि कुराकानी गरेका छौँ ।

दसैँ सम्मुखमै छ । सबै दसैँको योजना बनाउँदै छन् । तपाईंको चाहिँ दसैँको व्यक्तिगत योजना के छ यस पटक ?
अब हामी त जनप्रतिनिधि हौँ । जुनसुकै बेला पनि नगरबासीको सेवामा उपस्थित हुनुपर्छ । दसैँ नै भनेर आफ्ना लागि समय छुट्याएर बस्ने भन्ने हुँदैन । नगरबासीले सुरक्षित तरिकाले चाडपर्व मनाउने वातावरण तयार गर्न हाम्रो पहल रहन्छ ।

दसैँमा टीकाचाहिँ लगाउनुहुन्छ कि लगाउनुहुन्न ?
टीका त लगाइहाल्छु नि ! विशेष कार्यक्रम नभएको मात्र हो, दसैँचाहिँ मनाउँछु ।

दसैँ कहाँ मनाउने योजना छ त ? टीका लगाउन कता–कता जानुहुन्छ ?
हाम्रो परिवार यहीँ काठमाडौँकै बसोबास गर्छ । त्यसैले बाहिर जाने भन्दा पनि हामी यहीँ नै भेला हुन्छौँ र एकै ठाउँमा बसेर टीका लगाउँछौँ । मेरो ८२ वर्षको ससुरा बुबा हुनुहुन्छ । उहाँबाट टीका लगाउन सुरु गरेर आफन्तहरूकहाँ टीका लगाउँछाँै । त्यसैले मेरो दसैँ काठमाडौँ भ्यालीमा मात्र सीमित हुन्छ ।

अब नगरपालिकाको कुरा गरौँ । नगरपालिकले चाहिँ दसैँ लक्षित के–कस्ता काम गरिरहेको छ ?
अब यो महान् चाडको संघारमा हामी छौँ । चाडपर्वको विषयमा पहिलो आवश्यकता भनेको सुरक्षा नै हुँदोरहेछ । त्यसका लागि हामीले पहल गरिरहेका छौँ । सुरक्षा निकायहरूसँग समन्वय गरेर सबै ठाउँमा सुरक्षाको दृष्टिकोणले चुस्त दुरुस्त बनाउने काम गरिरहेका छौँ । त्यस्तै, अनुगमनको पाटोमा पनि हामी दु्रतगतिमा लागि रहेका छौँ ।

यो अनुगमन भनेको चाहिँ चाडपर्व नजिकिएपछि मात्र गर्ने हो र ? हेर्दा त त्यस्तै देखिन्छ ।
अनुगमन भनेको त हरेक दिन गर्नुपर्छ । बजार र उपभोक्ताबीच हुने असन्तुलनलाई मिलाउने काम अनुगमनले गर्छ । हुन त हामी सधैँजसो अनुगनमा हुन्छौँ । तर, चाडपर्वमा बजार बढी व्यस्त हुने भएकाले पनि अनुमगन बाक्लिन्छ । त्यसैले गर्दा चाडबाडमा मात्र अनुमगन गरेको जस्तो देखिएको हो । तर, यथार्थ त्यस्तो होइन ।

यतिखेर उपभोक्ता एकदमै ठगिने सम्भावना हुन्छ । त्यसका लागि हामीले अनुगमनलाई तीव्रता दिएका छौँ । हरेक दिन हामीले वडैपिच्छे पुगेर अनुमगन गरिरहेका छौँ । यसै सिलसिलामा हामीले उपभोक्ताकै गुनासोमा एउटा पानी फ्याक्ट्रीको अनुगमन गरेका थियौँ । गुणस्तरहीन पानी वितरण गरेको प्रमाणित भएपछि बालाजुमा रहेको उक्त पानी फ्याक्ट्रीलाई काठमाडौँ महानगरसँगको समन्वयमा हामीले त्यसलाई सिलबन्दी नै गरेका छौँ ।

यो त एउटा उदाहरण मात्र हो । हामीले उपभोक्ताको हितविपरीत काम गर्ने जुनसुकै व्यवसाय र व्यवसायीलाई कारबाही गरेका छौँ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ ।

नगरबासीका लागि दसैँ लक्षित मनोरञ्जन तथा पर्व विशेष त्यस्ता कही कार्यक्रम आयोजना गर्नुभएको छ ?
हाम्रो धर्म, संस्कृति, परम्परा, मान्यतालाई जोगाउने भनेको हामी आफैँले हो । त्यसमा नगरपालिकाको पनि भूमिका हुनुपर्छ । यो हाम्रो दायित्व पनि हो । तर, चाडबाडलाई सुरक्षित र मर्यादित भएर मनाउनुपर्छ । यसमा हामी बढी नै सजग छौँ ।
चाडबाड भन्नेबित्तिकै जाँडरक्सी खाने, होहल्ला गर्ने प्रवृत्ति बढ्दो छ । यसलाई रोक्न पनि पर्छ । यसले सामाजिक विकृतिसँगै झैझगडा र दुर्घटना पनि निम्त्याउँछ ।

आफ्नो चलन र रीतिरिवाजअनुसार चाडपर्व मनाउनुपर्छ । यसमा हाम्रो साथ र सहयोग पनि हुन्छ । तर, यसलाई विकृतिका रूपमा जान दिनुहुँदैन । यसैमा हाम्रो ध्यान केन्द्रित हुन्छ । यहाँ मनाइने हरेक पर्व, संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी हाम्रो हो । त्यसका लागि हामी सधैँ सकारात्मक नै हुन्छौँ ।

(सुशीला अधिकारी नागार्जुन नगरपालिका, काठमाडौँकि उपप्रमुख हुन्)

-विकास टाइम्स म्यागजिनबाट