दसैँमा फिल्म : दर्शकको फुर्सद, निर्माताको फिल्म चलाउने मौका

दसैँमा फिल्म : दर्शकको फुर्सद, निर्माताको फिल्म चलाउने मौका


काठमाडौँ ।
नयाँ वर्ष (वैशाख १ गते) देखि चैते दसैँसम्मका चाडपर्व नेपालीका लागि विशेष महत्वपूर्ण छन् ।

यो समयावधिमा आइरहने चाडपर्वमा नेपालीहरू दैनिक कार्यव्यस्तता र मानसिक तनावलाई भुलेर दिल खोलेर रमाउँछन् । अझ दसैँ र तिहार त झन् अभिन्न नै भए । वर्षमा एकपटक आउने नेपालकै ठुलो पर्व दसैँ पुनर्मिलनको पर्व पनि हो भन्दा फरक नपर्ला । किनकि यो पर्व मनाउन स्वदेशका टाढा–टाढा ठाउँदेखि विदेशका विभिन्न मुलुकमा बस्ने नेपाली नेपाल फर्कन्छन् ।

दसैँ र तिहार मिठो खान, तास खेल्न र रमाइलो गर्नका लागि विशेष छ । अन्य चाडभन्दा यो चाडमा फुर्सद पनि बढी हुने भएकाले नेपालीहरूका लागि फिल्म प्रमुख मनोरञ्जनको माध्यम बनिरहेका छन् । टीकाको दिन टीका लगाएर होस् या टीका नभएको परिवारले पनि फुर्सदको सदुपयोग गर्न आफूलाई पायक पर्ने ठाउँमा पुगेर फिल्म हेर्छन् । त्यसैकारण पनि ठुला ब्यानरका निर्माताहरू आफ्नो फिल्मलाई दसैँ र तिहारजस्ता चाडमा दर्शकमाझ ल्याउन मरिहत्ते गर्छन् ।

निर्माता तथा निर्देशक नारायण रायमाझी दसैँको अवसर पारेर असोज २६ गतेदेखि आफ्नो फिल्म ‘परदेशी २’ लिएर दर्शकमाझ आएका छन् । यो फिल्म उनले अघिल्लो वर्षकै दसैँमा रिलिज गर्ने योजना बनाएका थिए । तर उनकै भनाइमा केही प्राविधिक कारणले रिलिज हुन सकेन ।

उनका अघिल्ला २ फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पनि दसैँकै समयमा रिलिज भएका थिए । यी २ फिल्म सुपरहिट सावित भएका थिए । यस पटक ‘परदेशी २’ ले पनि सोही अनुसारको व्यापार गर्नेमा उनी ढुक्क छन् । नारायणसहित फिल्मका अभिनेता प्रकाश सपुत र अभिनेत्री केकी अधिकारी फिल्मको प्रचारप्रसार गर्न देश दौडाहा गरेर काठमाडौँ फर्किइसकेका छन् ।

‘पूर्वदेखि पश्चिमसम्मको यात्रामा धेरै दर्शकले फिल्मप्रति चासो देखाउनुभएको छ । दसैँको समयमा रिलिज हुने भएकाले पनि फुर्सद मिलाएर फिल्म हेर्ने भन्नुभएको छ,’ नारायण भन्छन्, ‘दसैँ ठुलो चाड भएकाले पनि चाडपर्वको माहोलमा रिलिज हुन लागेकाले दर्शक उत्साहित हुनुहुन्छ ।’

नारायणको बुझाइमा दसैँमा देशदेखि विदेशका विभिन्न स्थानबाट आफन्तहरू भेला हुने गर्छन् । यो मिलनलाई सदुपयोग गर्न पनि उनीहरू फिल्म हेर्ने गर्छन् । ‘दसैँमा फिल्म हेर्नु भनेको एउटा अवसर पनि हो । त्यो दर्शक गुमाउन चाहँदैनन् । दसैँमा प्रायः सबैको हातमा पैसा हुन्छ । त्यो पैसालाई उनीहरू अन्य अनावश्यक कुरामा खर्च गर्नुभन्दा फिल्म नै हेरेर खर्च गर्न चाहन्छन्,’ नारायण भन्छन् ।

कात्तिक ४ गते अर्थात फूलपातीको दिनबाट निर्देशक दीपेन्द्र के खनालको फिल्म ‘पशुपति प्रसाद–२ः भष्मे डन’ रिलिज हुँदै छ । फिल्म ‘द युगदेखि युगसम्म’बाट निर्देशन करियर सुरु गरेका दीपेन्द्रको निर्देशकीय करियरमा पहिलोपटक उनी निर्देशित फिल्म दसैँमा रिलिज हुन लागेको हो ।

‘म एकदमै उत्साहित छु । दसैँ आर्थिक रूपले सम्पन्न चाड पनि हो । यो चाडमा दर्शकहरू हलमा गई परिवारसँग बसेर फिल्म हेर्न पाउँदा खुसी देखिन्छन् । दुईदेखि अढाई घन्टाको फिल्म हेर्दा उनीहरू जति खुसी हुन्छन्, फिल्मप्रति दर्शकको क्रेज देख्दा हामी पनि उत्तिकै खुसी हुन्छौँ,’ दीपेन्द्र भन्छन्, ‘मेरा लागि दसैँको समयमा रिलिज गर्नु नौलो अनुभव हो । हाम्रो मिहिनेत खेर नजानेमा म ढुक्क छु ।’

दीपेन्द्रको अनुभवमा दसैँमा मानिसहरू बढी मात्रामा घुम्न र फिल्म हेर्न मन पराउँछन् । यसअघि फिल्मले दसैँको समयमा गरेको व्यापार देखेर पनि आफ्नो फिल्मले राम्रो व्यापार गर्नेमा उनी ढुक्क देखिन्छन् । यसअघिको फिल्म ‘पशुपति प्रसाद’ ले व्यावसायिक र समीक्षात्मक रूपमा सफल प्रतिक्रिया पाइरहँदा ‘पशुपति प्रसाद–२ः भष्मे डन’ले पनि अघिल्लोको जस्तै प्रतिक्रिया पाउनेमा उनी आशावादी छन् ।

फिल्मले फड्को मारेझैँ थिएटरले पनि राम्रो फड्को मारेका छन् । सुविधासम्पन्न थिएटरमा बसेर फिल्म हेर्नकै लागि दर्शकहरू पैसा खर्च गर्न कन्जुस्याइँ गर्दैनन् । त्यसो त कुनै समय सिंगल थिएटरको दबदबा रहेका बेला पनि दसैँको समयमा दर्शकको उपस्थिति उस्तै बाक्लो थियो । सस्तो रकममा फिल्म हेर्न पाइने भएपछि दर्शकको संख्या उल्लेख्य हुन्थ्यो । सामान्यतया अहिले फिल्मको टिकट मूल्य अधिकतम ४०० रुपैयाँ पर्छ । यो मूल्यमा दर्शक हाँसीखुसी फिल्म हेरिरहेका हुन्छन् । अधिकांश दर्शक श्रमजीवी अर्थात् रोजगार गर्ने भएकाले पनि उनीहरू फिल्म हेर्न कन्जुस्याइँ गर्दैनन् ।

अधिकांश निर्माताहरू दसैँमा फिल्म रिलिज गर्न डराइरहँदा अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो हिट सिरिज ‘छक्का पञ्जा’लाई दसैँको मौका पारेर दर्शकमाझ ल्याए । उनीहरूको कामलाई दर्शकले हर्षोल्लासका साथ स्वागत गरे । फिल्म सुपरहिट सावित भइदियो ।

दीपकराज आफ्नो फिल्म चाडपर्व लक्षितभन्दा पनि राम्रो पारिवारिक फिल्म बनाएर दर्शकलाई देखाउन चाहेको सुनाउँछन् । ‘दसैँमा फिल्म रिलिज गर्दा परिवार, आफन्त बसेर हेर्छन् । दसैँको टीका लगाएपछि सबै जना भेला भएर हलमा फिल्म हेर्न आउँछन् । यो समयमा बिदाको ठुलो महत्व हुन्छ,’ दीपक भन्छन्, ‘हाम्रो मात्र होइन, अरू सम्भावना बोकेका राम्रा फिल्म हेर्न चाहने दर्शकलाई पनि दसैँको समयमा ती फिल्म रिलिज भयो भने व्यापारदेखि दर्शकसँगै फिल्म उद्योगलाई पनि राम्रो सन्देश जान्छ ।’

उनी ‘छक्का पञ्जा’को प्रदर्शनसँगै दसैँमा पनि फिल्म चल्छ भन्ने मान्यता आफूले स्थापित गर्दा अहिले पनि ‘चाडबाडमा किन फिल्म चलाउनुप¥यो ?’ भनेर प्रश्न सोध्ने गरेको स्मरण गर्छन् । दसैँमा फिल्म रिलिज हुनुलाई दीपक जोखिम मान्दैनन् । फिल्मको विषयवस्तु र प्रस्तुति राम्रो भएमा कुनै पनि फिल्मका लागि जोखिम नहुने दीपकको बुझाइ छ ।

‘तपाईंले गलत कुरा देखाइरहनुभएको छ र भनिरहनुभएको छ भने त्यो जहिल्यै जोखिममा हुन्छ,’ दीपक भन्छन् । दीपकको अनुभवमा दसैँ र तिहारको समयमा फिल्म रिलिज हुँदा घरमा आनन्दले बस्न पाइँदैन । ‘यो बेला निकै दौडधुप हुन्छ । चाडबाडले गर्दा फिल्म धेरै चल्छ भन्ने गलत मानसिकता बढेको छ,’ उनी भन्छन् ।

अभिनेता, निर्माता, निर्देशक अशोक शर्माले पछिल्ला २ फिल्म ‘जय भोले’ र ‘रातो टीका निधारमा’ दसैँमा नै रिलिज गरे । फिल्म वितरक कम्पनी डिसिएनका प्रमुखसमेत रहेका अशोक दसैँमा लामो समय बिदा हुने भएकाले त्यसको फाइदा नेपाली फिल्ममा देखिने गरेको बताउँछन् ।

उनका अनुसार बिदाको समयमा फिल्म हेर्ने दर्शकको प्रतिशत मात्रा बढी हुन्छ । उनको अनुभवमा यो अन्य बारको भन्दा शनिबारको दिन दर्शकको फ्लो बढेजस्तै चाडबाडमा पनि मान्छेहरू आउटिङमा, आफन्तलाई भेट्न जाने, कतै रमाइलो गर्न गए जसरी नै फिल्म अथवा मनोरञ्जनमा रमाउने चाहना हुन्छ । ‘फिल्मले कमायो भन्दैमा जस्तोसुकै कथाका फिल्म चल्ने पनि होइन । राम्रो कथाको फिल्म छ र दसैँमा चलायो भने अरू दिनको व्यापारभन्दा दसैँको व्यापार आक्रामक हुन्छ,’ अशोक भन्छन् ।

निर्माता तथा फिल्म वितरक गोपालकाजी कायस्थ अन्य समयको तुलनामा दसैँ र तिहारजस्ता चाडमा दर्शक संख्या बढ्ने दाबी गर्छन् । ‘चाडपर्वमा फिल्म चल्छ भन्ने मान्यता सबैमा छ । फिल्मका दर्शकहरू अन्य समयको तुलनामा चाडपर्वमा बढी नै खुसी हुन्छन् । त्यही कारण उनीहरू परिवारलाई लिएर फिल्म हेर्न जान्छन्, जसले गर्दा चाप अन्य समयको तुलनामा ह्वात्तै बढ्छ,’ उनको भनाइ छ ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला बलिउडमा राम्रा ब्यानरका फिल्म महत्वपूर्ण चाडमा रिलिज भएजस्तै नेपालले पनि त्यो शैलीलाई अपनाएको स्वीकार्छिन् । ‘दसैँमा फिल्म चल्छ भन्ने सुरुआत हामीले नै गरेका हौँ । त्यो समयमा घरमा पूजा हुन्छ, रमाइलो हुन्छ, किन फिल्म रिलिज गर्ने भन्ने कुरा हुन्थ्यो,’ दीपाश्री भन्छिन्, ‘दसैँ केवल पूजा र रमाइलोका लागि मात्र होइन, मनोरञ्जनको पनि माध्यम हो भनेर हामीले फिल्म लगायौँ । त्यसलाई अन्य निर्माता निर्देशकले निरन्तरता दिँदै जानुभयो ।’

निर्माता तथा निर्देशक शोभित बस्नेत दसैँ सामान्य फिल्मदेखि प्रतीक्षित फिल्म दुवैका लागि पैसा कमाउने प्रमुख समय रहेको दाबी गर्छन् । ‘पहिला पनि नयाँ वर्ष, दसैँ, तिहार, माघे संक्रान्ति, साउने संक्रान्ति, तीजजस्तो पर्वमा फिल्म प्रदर्शन हुन्थे । दसैँका समयमा त एकैदिन २ देखि ३ वटासम्म फिल्म रिलिज हुन्थे,’ शोभित सम्झन्छन्, ‘यो समयमा सामान्य फिल्मले पनि लगानी उठाएको छ । एकै दिन २ देखि ३ फिल्म रिलिज हुँदा दर्शकको ओभर फ्लो हुन्छ । ओभर फ्लो दर्शकहरू त्यही फिल्मलाई पर्खिएर बस्न भ्याउँदैनन् । त्यहीकारण उनीहरू अर्को फिल्मको टिकट काट्न हतार गर्छन् ।’

-विकास टाइम्स म्यागजिनबाट