अब मलाई ‘बुबा’ले कहिल्यै आशिष दिनुहुन्न

अब मलाई ‘बुबा’ले कहिल्यै आशिष दिनुहुन्न


मेरो मावलको ‘बुबा’ (हजुरबा) सँगको कनेक्सन पनि रोचक र फरक छ । एक हिसाबले एउटा कहानी नै छ । म स्कुल पढ्दा मेरो बाबा, जसलाई म ड्याडी भन्छु, मलाई भेट्न स्कुलमा आउनुभएको थियो ।

मलाई सर–मिसले ‘तिम्रो बुबा हो ?’ भनेर सोध्नुभएको थियो । मैले जबाफमा होइन भनेँ । उहाँहरूरूे उहाँलाई नचिन्ने कुरै थिएन । फेरि सोध्नु भयो– ‘अनि को त उहाँ ?’
मैले तुरुन्त जबाफ दिएँ– ‘ड्याडी ।’ सर–मिसहरूले हाँस्दै सोध्नुभयो– ‘अनि बुबाचाहिँ कहाँ हुनुहुन्छ ?’ मैले तुरुन्त भनेँ– ‘मावलमा’ ।

यो त भयो सानोको कुरा । सायद मैले बुबा र ड्याडी एउटै हो भन्ने कुरा थाहा नपाएर त्यसो भनेको हुनुपर्छ । तर, म अलि ठुलो भइसक्दा पनि एक पटक त्यस्तै घटना दोहोरिएको छ ।

मैले मेरो मतदाता परिचयपत्र बनाउने बेलामा मलाई मेरो हजुरबुबाको नाम सोधेका थिए । त्यो बेला पनि मैले मेरो मावलको हजुरबुबाको नै नाम लिएको थिएँ । अनि मेरो मतदाता परिचयपत्र विवरण लिइरहेका व्यक्ति एकछिन अलमल परे । किनकि मैले बुझाएको फर्ममा अर्को नाम थियो । अनि थर पनि । उनले त्यसबारे जिज्ञासा राखेपछि मैले फेरि सम्झिएर सुधारेको थिएँ ।

सायद मेरो घरको हजुरबुबासँग टाढा भएर मावलको हजुरबुबासँग नजिक भएर होला, मलाई मेरो मावलको हजुरबुबा भन्ने नै कहिल्यै लागेन । मेरो घरकै हजुरबुबा हो भन्ने लाग्थ्यो ।

मेरो घर र मावल करिब ५ मिनेटको दुरीमा छ । मलाई सानैदेखि मेरो मावलको हजुरबुबाले नै हुर्काउनुभएको हो । यतिसम्म कि मेरो नामसमेत मेरो हजुरबुबाले नै राखिदिनुभएको थियो ।

सानो बेलामा मैले कुनै काम बिगार्दा (उखु चोर्दा, माछा चोर्दा, बेला मौकामा पैसा पनि) मलाई पिट्नेदेखि सम्झाउनेसम्म गर्नुहुन्थ्यो । अनि केही राम्रो काम गरेमा पूरै गाउँलाई नै मैले गरेको प्रगति सुनाउनुहुन्थ्यो ।

हजुरबुबाले जहिले पनि सम्झाउँदा श्लोकबाट नै सम्झाउनु गर्नुहुन्थ्यो । हजुरबुबाले मलाई कैयौँ श्लोकले सम्झाउनुभएको छ । तर, त्यसमध्ये ‘अर्ती र ओखती कहिले हुन्न तितो, तर कहिले तितो नमान्नू है भविष्यमा मिठो’ भन्ने श्लोक म कहिल्यै बिर्सिन सक्दिनँ ।

मेरो हजुरबुबाका बारेमा भन्दा यो एउटा ब्लग फिका पर्छ । मेरो हजुरबुबाले खासै पढ्नुभएको होइन । तर, उहाँले संस्कृत पढेको देख्दा म अचम्ममा पर्ने गर्थें । जुन अक्षर र शब्द हामी पढेलेखेकालाई पढ्न कठिन लाग्थ्या, हजुरबुबाले फरर्र पढ्नुहुन्थ्यो ।

मैले दसैँका बेला हजुरबुबालाई धेरै ‘मिस’ गर्ने भनेको दसैँमा श्लोक भन्दै टीका लगाइदिने क्षण हो । घरमा ममी, ड्याडीको हातबाट दसैँको टीका लगाउनेबित्तिकै हामी पहिले मावल नै जान्छौँ । अनि हाम्रो दोस्रो टीका हजुरबुबासँग नै हुन्थ्यो । हजुरबुबाले दसैँमा भन्ने श्लोक सुन्दै टीका लगाउँदा छुट्टै आनन्द आउँथ्यो । मलाई मात्र दिएको श्लोकसहितको आशिषले नपुगेर अरूलाई टीका लगाउँदा दिएको आशिष पनि सुन्ने गर्थें ।

तर, अब हजुरबुबाको श्लोक सुन्न कहिल्यै पाउँदिनँ, आशिष लिन पाउँदिनँ । मैले मेरो मावलको हजुरबुबालाई सदाका लागि गुमाएको पनि एक वर्ष बितिसकेछ । आज दसैँको टीकाको दिन मैले हजुरबुबा र आशिषले भरिएका श्लोक सम्झिरहेको छु ।
मलाई घरिघरि त यस्तो लाग्छ कि– तपाईंले हामीलाई छाडेर जानुभएको यो मनले त मान्न नै सकेको छैन । कसरी विश्वास गरौँ कि हाम्रो धरोहर एक्कासि हामीलाई छाडेर जानु भयो भनेर ?

आजभन्दा १ वर्षअघि पनि हामीलाई विश्वास नै लागेको थिएन । कि तपाईंले हामीलाई छाडेर जानुहुन्छ भन्नेर ।
अब मलाई दसैँको श्लोक कसले सुनाउँछ ‘बुबा’ ? अब मैले गल्ती गर्दा गाली कसले गर्छ ? मैले राम्रो काम गर्दा प्रशंसा कसले गर्छ ? आज दसैँको टीकाको दिन । मैले घरमा त टीका लगाएर मावल आएँ । तर, मावलमा तपाईं हुनुहुन्न नि !

थाहा छ– अब तपाईं कहिल्यै पनि हामी सामुन्ने आउनुहुन्न । सदाका लागि भगवानको प्यारो भइसक्नु भयो । सायद हामीलाई माथिबाट हेरिरहनुभएको होला । हजुरबुबा मलाई माथिबाटै भए पनि दसैँमा आशिष दिनु है !