मूर्ति विसर्जनका क्रममा डुबेर प्रहरी जवानसहित २ जनाको मृत्यु, १ जना बेपत्ता

मूर्ति विसर्जनका क्रममा डुबेर प्रहरी जवानसहित २ जनाको मृत्यु, १ जना बेपत्ता


लुम्बिनी ।
दुर्गा मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर २ जनाको मृत्यु भएको छ भने १ जना हराइरहेका छन् ।

कोटहीमाई गाउँपालिका वडा नं. १ अमरगन्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् ।
कोटहीमाई गाउँपालिका–१ दुईमोहानघाटस्थित दानव खोलामा डुबेर मृत्यु भएका २ जनाको शव खोजतलासका क्रममा स्थानीयले फेला पारी पोस्टमार्टमका लागि भैरहवा लैजाने प्रक्रियामा छ भने १ जनाको खाेजी जारी रहेको प्रहरीले जनाएको छ ।

यसरी खोलामा डुबेर मृत्यु हुनेहरूमा अमरगन्जका २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभर रहेका छन् भने २० वर्षीय सन्तकुमार राजभरको खोजी तथा उद्धार कार्य भइरहेको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उनको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृतक अजयकुमार नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा कर्यरत प्रहरी जवान हुन् । उनी दसैँ मान्न घरबिदामा गएका बेला मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले बताए ।