शे–फोक्सुण्डो ताल घुम्न सजिलो यी महिना

शे–फोक्सुण्डो ताल घुम्न सजिलो यी महिना


डोल्पा । देशको सबैभन्दा गहिरो ताल हो, शे–फोक्सुण्डो । डोल्पाको शे–फोक्सुण्डोलाई कर्णालीकै प्रदेशकै दोस्रो महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । समुद्री सतहबाट ११ हजार ८०० फिट उचाइमा रहेको शे–फोक्सुण्डोको गहिराइ ६५० मिटर छ । काञ्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुण्डो ताल मौसम अनुसार फरक–फरक रंगमा सजिन्छ । वर्षैभरि फोक्सुण्डो यात्रा गर्न सकिन्छ । फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म घुम्ने उत्तम सिजन मानिन्छ ।डोल्पाको सुलिगाडबाट पदयात्रा गरेपछि मात्र तालमा पुगिन्छ । तालबाट अढाइ घन्टा पदयात्रा गरेर भ्यू पोइन्ट पुगेमा फोक्सुण्डोको बेग्लै स्वरूप देखिन्छ ।

ताल किनाराको रिग्म गाउँ पदयात्रीहरूको बासस्थान हो । डोल्पा लोअर सर्किट, अपर डोल्पो र फोक्सुण्डो पदयात्रा गर्नेहरू रिग्ममा बास बस्छन् । गाउँको उत्तरपश्चिममा काञ्जिरोवा हिमाल छ भने दक्षिणमा काङ ताईका तोङ हिमाल । गाउँमा गुम्बा, चैत्य र मानेहरू छन् । त्यहाँ भोटे जीवनशैलीको सौन्दर्य पाइन्छ । उनीहरूको पृथक संस्कृति र रितिथिति छ । फोक्सुण्डो ताल किनारमा पन्ध्रौं शताब्दीमा टेतोन छेवाङ छुल्ठिमले बनाएको थासुङ छोलिङ गुम्बा छ । बोन धर्मालम्बीहरुको बाक्लो बसोबास रहेकोे डोल्पालाई ‘ल्यान्ड अफ बोन’ भनिन्छ । डोल्पा जिल्ला बाह्रै महिना घुम्नका लागि उपयुक्त स्थान हो ।

डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा पाइन्छ । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ । माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ । त्यस्तै, शे–फोक्सुण्डो रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो ।डोल्पा