घरायसी विवाद हुँदा चिर्पटले हानेर पत्नीकाे हत्या

घरायसी विवाद हुँदा चिर्पटले हानेर पत्नीकाे हत्या

घाँस काट्दा भिरबाट लडेर अर्की महिलाकाे मृत्यु


खोटाङ ।

खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले दाउराकाे चिर्पटले हानेर पत्नीकाे हत्या गरेका छन् ।

उनले हानेकाे चिर्पटले लागेर ३६ वर्षीया पत्नी लाक्पा डिकु शेर्पाको मृत्यु भएको हाे ।

मादक पदार्थ सेवन गरेका दावा र पत्नीबीच घरायसी विवाद हुँदा दावाले गएराति प्रहार गरेको चिर्पट लागेर डिकुकाे मृत्यु भएको हो ।

पति-पत्नीबीच मूलघरमा झगडा भएपछि भागेकी पत्नी घरबाट करिब २०० मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए ।

हत्या गर्ने पतिलाई गएराति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए । बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी पत्नीलाई त्यहीँ पुगेर दावाले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

मृतक डिकुको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पतालमा लगिएको थियो । शेर्पा दम्पतीका २ छोरी छन् ।

यसैबीच जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी २६ वर्षीया एलिना मगरको मृत्यु भएको छ ।

दशमीका दिन घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गुमाएकी उनको शव जिल्ला अस्पतालमा लगेर परीक्षण गरेपछि बिहीबार अन्तिम दाहसंस्कारका लागि प्रहरीले आफन्तलाई जिम्मा लगाएको थियो ।