पर्वत ।
पर्वत जिल्लाभित्र करोडौँ रुपैयाँ लगानीमा निर्माण भएका चिस्यान गृह (काेल्ड स्टाेर) हरू प्रयोगविहीन भएका छन् । प्रयोग भएका कतिपय गृह पनि आंशिक मात्रामा सञ्चालनमा छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यान केन्द्रहरू कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सीधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञानकेन्द्र पर्वतका अनुसार हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका ८ वटा चिस्यान केन्द्र छन् ।
जिल्लाभित्र रहेको चिस्यान गृहको क्षमता करिब ६४.५ मेट्रिक टन छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका ३ वटा चिस्यान गृहमा फलफूल तरकारीको यामका बेलामात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमता रहेको १ र कुर्घामा २.५ मेट्रिक टन क्षमता रहेका २ वटा चिस्यान केन्द्र मौसमअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ ।
‘हामी जसरी कोल्ड रुम बनाउन बजेटका लागि खट्छौँ, भनसुन गर्छौं, सोहीअनुसार सञ्चालनमा समेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन नसकेका हुन्,’ कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले भनिन्, ‘राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणपश्चात्का जटिलता, प्राविधिक ज्ञान, सहुलित विद्युत्लगायतका पक्षमा समेत यथोचित ध्यान दिनुपर्छ ।’
थापाले चिस्यान केन्द्र निर्माण गरे पनि कृषकले भण्डारण नगरी ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकसित हुँदै गएकोे र कृषि उपज टिप्ने, संकलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञान उनीहरूमा नदेखिएको हुँदा फसल लामो समयका लागि स्टोर गर्न समस्या देखिएको बताइन् ।
त्यसैगरी ५ वर्षअघि कुश्मा नगरपालिका–९ कटुवा चौपारीको बाह्रबीसेमा निर्माण गरिएको कोल्ड रुममा आलु भण्डारण हुँदै आएको छ । कटुवा चौपारीको कोल्ड रुममा विगत ४ वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषि उपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिए । उनले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको जानकारी दिए ।
त्यसैगरी पैयुँ गाउँपालिका–४ हातेमालो चोकमा चिस्यान गृह निर्माण सम्पन्न भएर पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । पैँयुको चिस्यान गृह निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, ललितपुरको ११ लाख र पैँयु गाउँपालिकाको ११ लाख रुपैयाँ लगानी छ ।
तर विद्युत् जडान समस्याका कारण हालसम्म सञ्चालनमा आउन नसकेको पैँयु कृषि शाखाका नायब प्राविधिक सहायक सन्दीप तिवारीले जानकारी दिए ।
‘राज्य तथा व्यक्ति भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माणपछिकाे व्यवस्थापकीय पक्षमा उदासीन देखिने प्रवृत्तिका कारण चिस्यान गृह अपेक्षाअनुसार सफल हुन नसकेका हुन्’, स्थानीय कृषक सरोज खनालले भने, ‘सरकारले भौतिक संरचना निर्माणमा मात्र होइन दीर्घकालसम्म कोल्डरुम सञ्चालनमा समेत नीति नै बनाएर कृषक सँगसँगै हातेमालो गर्नुपर्छ । तबमात्र कृषकका लागि ल्याएका सुविधा सार्थक र कृषक केन्द्रित हुनेछन् ।’
कृषि उपज टिप्ने, अल्पकालीन भण्डारण गर्ने तथा ढुवानी गर्नेलगायत विषयमा यथेष्ट ज्ञान, कोल्ड रुमसम्बन्धी प्राविधिक ज्ञान र सहुलित विद्युत् उपलब्ध गराउने राज्यको नीति नबन्दासम्म लगानी परिणामुखी नहुने सरोकारवालाको भनाइ छ ।
दक्ष प्राविधिक तथा ज्ञान, विद्युतीकरण र सहुलियत विद्युत् उपलब्ध गराउने नीतिको अभावका कारण समस्या हुने गरेको सुन्तला कृषक उमाकान्त शर्माले बताए ।
प्रतिक्रिया