५० हजार पर्ने च्याङ्ग्रा २५ हजारमै बेच्दै

५० हजार पर्ने च्याङ्ग्रा २५ हजारमै बेच्दै


पोखरा ।

यो वर्षको दसैँमा पोखरामा अघिल्ला वर्षको तुलनामा ५० प्रतिशत मासुको खपत कम भएको छ ।

अघिल्ला वर्षमा करिब एक अर्ब बराबरको भेडा च्याङ्ग्रा, खसी, बोका, राँगा, भैँसी तथा कुखुराको मासुको खपत हुने गरे पनि यस बर्ष पोखरामा त्यसको आधा पनि मासु खपत नभएको व्यावसायीहरु बताउँछन् ।

कोरोना पछि हाल अर्थतन्त्रमा परेको प्रभावका कारण मासुको खपत घटेको हुनसक्ने उनीहरूको भनाई छ । मासुको खपत कम भएसँगै हिमाल पारीको जिल्ला मुस्ताङ, डोल्पा, बझाङ लगायतका क्षेत्रबाट पोखरामा बिक्रीको लागि ल्याएका भेडा च्याङ्ग्रा खासै बिकेनन् ।

सोंचेजसरी खसी च्याङ्ग्रा नबिकेपछि यत्तिखेर व्यवसायीहरूले सहुलियत मूल्यमा च्याङ्ग्रा बिक्री गर्न सुरु गरेका छन् । सुरुमा प्रति भेडा च्याङ्ग्रा ५५ हजार मूल्यमा बिक्री गरेका व्यवसायीहरूले टिकाको अघिल्लो दिनदेखि मूल्यमा ५० प्रतिशतसम्म छुट दिएर बिक्री गरेका हुन् ।

अझै पनि पोखरामा हजार भन्दा बढी भेडा च्याङ्ग्रा बिक्रीको लागि राखिएको व्यवसायी प्रकाश बुढाथोकीले बताए । उनीहरूको समूहले ५ सय भेडा च्याङ्ग्रा बिक्रीको लागि पोखरा ल्याए पनि अझै १ सय ४५ वटा बाँकी रहेको बताए । डोल्पाबाट ल्याएका भेडा च्याङ्ग्रा हाल २५ हजारमा बिक्री गर्न थालेको उनले बताए ।

बुढाथोकीले अब तिहारसम्म उक्त भेडा च्याङ्ग्रा बिक्रीको लागि पोखरामै बस्नुपर्ने बनाए । डोल्पाबाट करिब एक महिना लगाएर करिब ५ सय भेडा च्याङ्ग्रा बिक्रीको लागि पोखरा ल्याएका अर्का व्यवसायी युद्ध बस्नेतको समूहले १६ हजार देखि १९ हजारसम्ममा भेडा,च्याङ्ग्रा बिक्री गरी घर फर्किन लागेको बताए ।

पोखरामा यस वर्षको दसैँ पर्व लक्षित गरी करिब ९ हजार खसी बोका खरिद गरे पनि अझै ४ हजार ५ सय जसो खसी बोका बिक्री नभएको पोखरा खसी बोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए । अन्य वर्षको दसैँमा भन्दा यस वर्ष दसैँको रौनक केही कम हुने सक्ने आशङ्कामा यो वर्ष कम खसी बोका खरिद गरे पनि त्यो पनि सबै बिक्री नभएको उनले बनाए । जब बजारमा चहल पहल र मानिसहरूको भिडभाड कम हुन्छ त्यसले दसैँका अवसरमा हुँदै आएका आर्थिक क्रियाकलापमा प्रत्यक्ष असर पार्ने व्यवसायीहरू बताए ।

पाल्पा, नवलपरासी, स्याङजा, गोर्खा, तनहुँ लगायतको क्षेत्रबाट खसी बोका पोखरा ल्याउने गरिन्छ । जिउँदो खसीको प्रतिकेजी ६ सयदेखि ६ सय ७० रुपैयाँसम्म पर्ने गरेको छ भने खसीको तयारी मासु प्रति केजी १ हजार २ सय रुपैयाँसम्म पर्ने गरेको छ ।

समितिको बाहेक पोखरा क्षेत्रमा व्यक्तिगत रुपमा किसानहरुले उत्तिकै सङ्ख्यामा खसीरबोका खरिद गर्ने गरेको पाइन्छ । पोखरामा अन्य दिनमा पनि दैनिक जसो ५० हजार भन्दा बढी कुखुराको मासु बिक्री हुने गरेको बताइन्छ ।

हिमाल पारीको जिल्ला मुस्ताङबाट यस बर्ष ५ हजार ७ सय ५५ वटा भेडा च्याङ्ग्रा निकासी भएका छन् । सोमबारसम्ममा मुस्ताङबाट ५ हजार ७ सय ५५ वटा भेडा र च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका निमित्त कार्यालय प्रमुख ऋषिराम पोखरेलले बताए ।