मोबाइलको विषयमा विवाद हुदा भाटाले हानेर रुपेशको हत्या, २ जना पक्राउ

मोबाइलको विषयमा विवाद हुदा भाटाले हानेर रुपेशको हत्या, २ जना पक्राउ


जनकपुरधाम ।

साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका-६ चक्कर टोल हाल जनकपुरधाम(२४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम-२४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई नियन्त्रणमा लिएको हो ।

कात्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको खुलेको थियो ।

जटहीस्थित नेपाल-भारत सीमापारिबाट लागुऔषध सेवन गरी आएका ३ जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा भाटाले प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

घटनाको क्रममा मृतकले प्रयोग गर्ने साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले हत्या गर्ने समयमा प्रयोग गरेको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल समेत जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।