बीएनपीका नेता मिर्जा आलमगिर पक्राउ

बीएनपीका नेता मिर्जा आलमगिर पक्राउ


ढाका ।

प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का नेता मिर्जा फखरुल इस्लाम आलमगिर आइतबार बिहान पक्राउ परेका छन् ।

तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि आलमगिर पक्राउ परेको उनको दल बीएनपीले जानकारी दिएको छ ।

‘मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रशासनका अधिकारीहरूले पक्राउ गरेका छन्,’ बीएनपीले विज्ञप्ति जारी गर्दै भनेको छ ।

अस्ट्रेलियामा रहेकी आलमगिरकी छोरी शमारुह मिर्जाले एएफपीलाई भनिन्, ‘उहाँलाई प्रहरीले हिरासतमा राखेको छ ।’

ढाका मेट्रोपोलिटन प्रहरीका प्रवक्ता फारुक हुसेनले उनको गिरफ्तारीबारे आफूलाई जानकारी नभएको बताए । बीएनपीका अध्यक्ष तथा दुईपटक प्रधानमन्त्री बनेकी खालिदा जियालाई पक्राउ गरेर जेल सजाय दिइएपछि र उनका छोरा बेलायतमा निर्वासनमा परेपछि बीएनपीका महासचिव ७५ वर्षीय आलमगिरले पार्टीको नेतृत्व गर्दै आएका छन् । सन् २०२० मा १७ वर्षको जेल सजायबाट रिहा भएपछि जिया नजरबन्दमा बस्दै आएकी छन् ।

प्रदर्शन स्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार बीएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीले शनिबार गरेको विरोध प्रदर्शन यस वर्षको अहिलेसम्मको सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताएका छन् । साथै आगामी जनवरीमा हुने आम निर्वाचनभन्दा अघि भएको उक्त विरोध प्रदर्शन नयाँ चरण भएको बताइएको छ ।

बङ्गलादेशका दुई प्रमुख विपक्षी पार्टीका एक लाखभन्दा धेरै समर्थकले एउटा तटस्थ सरकार मातहत स्वतन्त्र र निष्पक्ष मतदानको अनुमति दिनका लागि प्रधानमन्त्री शेख हसिनालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध प्रदर्शनमा भाग लिएका थिए । बङ्गलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छिन् । उनको कार्यकालमा कूल गार्हस्थ्य उत्पादनको मामिलामा बङ्गलादेशमा तीव्र विकास गरे पनि मुद्रास्फीति बढेको छ । उनको सरकारमाथि भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ ।