ग्रामीण सडक सुधारका लागि एडीबी र सरकार बिच १३ अर्ब ऋण सम्झौता

ग्रामीण सडक सुधारका लागि एडीबी र सरकार बिच १३ अर्ब ऋण सम्झौता


काठमाडौं ।

सरकार र एसियाली विकास बैंक (एडीबी) बीच सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एडीबीका देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि यो एडीबीबाट भएको अतिरिक्त वित्तीय लगानी हो । कुल ३२४ किलोमिटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिनेछ । सो अवसरमा अर्थसचिव पुष्करले प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र सङ्घीयता कार्यान्वयनलाई सघाउने बताए ।

एडीबीका देशीय निर्देशक आर्नोड काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताए ।

सडक मर्मतसम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायतका काम यो आयोजनामार्फत् गरिनेछन् ।