‘बालेनको लोकप्रियताबाट आत्तिएर नेताहरूले मर्यादा घटाएर अपमान गरे’

‘बालेनको लोकप्रियताबाट आत्तिएर नेताहरूले मर्यादा घटाएर अपमान गरे’

प्रदेश बराबरको बजेट चलाउने, डेढ दर्जन सांसद् चुनिने काठमाडौँको मर्यादा किन घटाइयो ?


काठमाडौँ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले काठमाडौँ महानगरपालिका प्रमुखको मर्यादाक्रम घटाउने प्रस्ताव गरेको छ । जुन राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पारित पनि भइसक्यो ।

उक्त प्रस्तावअनुसार अहिलेको १०औँ स्थानमा रहेको काठमाडौँ महानगरपालिका प्रमुखको मर्यादाक्रमलाई १७औँ स्थानमा पुर्‍याइएको छ । अहिले काठमाडौँ महानगरपालिका प्रमुखको मर्यादाक्रम नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेशसभाका विभिन्न समितिका सभापति, संविधानसभाका सदस्य, पूर्वसांसद, नेपाल सरकारको मुख्यसचिव र प्रधानसेनापतिकै सरह छ ।

काठमाडौँ महानगरका प्रमुखलाई अरू महानगरभन्दा माथि राखिएको थियो । तर, अहिलेको प्रस्तावले सबै महानगरका प्रमुखलाई एउटै लहरमा राखेको छ । हुन त सबै महानगरका प्रमुखलाई एउटै लहरमा राख्दा महानगरको समान अस्तित्व कायम हुने कतिपयको बुझाइ छ ।

तर, यस विषयमा काठमाडौँबासी भने सन्तुष्ट देखिँदैनन् । एक स्थानीय भन्छन्, ‘काठमाडौँ अरू महानगर जस्तो होइन । यो देशको संघीय राजधानी हो र राष्ट्रिय राजनीतिमा यहाँका जनताको अहं भूमिका रहन्छ । त्यसैले महानगरको मर्यादालाई घटाउने कदम गलत हो ।’

काठमाडौँ महानगरका मेयरको मर्यादा घटाउनु भनेको यहाँका जनताको अपमान गर्नु रहेको उनीहरूको तर्क छ ।

अहिलेको प्रस्तावित मर्यादाक्रम आपत्तिजनक रहेको संविधानविद् डा. भीमार्जुन आचार्य बताउँछन् । स्थापित मर्यादाक्रमलाई पटकपटक परिवर्तन गर्न नमिल्ने उनको तर्क छ । उनी भन्छन्, ‘यो आपत्तिजनक र भद्रगोल छ, स्थापित भइसकेको मर्यादाक्रमलाई यसरी पटक–पटक परिवर्तन गर्नुहुँदैन, कहीँ पनि गरिँदैन ।’

चुनावी प्रतिस्पर्धा र मतभार हेर्ने हो भने काठमाडौँ महानगर प्रमुख एक्लैले ९ जना प्रतिनिधिसभा सदस्य र १२ जना प्रदेश सभा सदस्यको हैसियत राख्छ । काठमाडौँमा प्रतिनिधिसभाको १० वटा र प्रदेश सभाको २० वटा निर्वाचन क्षेत्र छ । जसमा सबैजसो क्षेत्रमा काठमाडौँ महानगरको अहम् भूमिका रहन्छ ।

प्रतिनिधिसिभाको काठमाडौँ क्षेत्र नं १ का लागि त केवल महानगरका १०, ११, २९ र ३१ गरी ४ वटा वडा नै पर्याप्त छ । यसको अर्थ काठमाडौँ महानगरको जम्मा ४ वटा वडाले नै प्रतिनिधिसभाको १ जना सांसद् चयन गर्छ । यस अर्थमा काठमाडौँ महानगरको महत्व झनै बढी देखिन्छ ।

त्यस्तै, काठमाडौँ महानगरका मतदाताको मात्र उपस्थितिमा प्रदेशसभाका ७ जना सांसद चयन हुन्छन् । अरू ५ जना प्रदेश सांसद्को चयनमा पनि काठमाडौँ महानगरको अहम् भूमिका रहने गर्छ ।

संविधानविद् आचार्य अहिलेको मर्यादाक्रम काठमाडौँका मेयर बालेन्द्र (बालेन) शाह लक्षित पनि रहेको बताउँछन् । उनका अनुसार बालेनको बद्दो लोकप्रियतालाई दबाउन यसो गरिएको हुन सक्छ । राजनीतिक तहबाट केही गर्न नसकेपछि बालेनको शाख गिराउने र अपहेलना गर्ने प्रयास सरकारले मर्यादाक्रममार्फत् गरेको आचार्यको बुझाइ छ । ‘राजनीतिक नेतृत्वले यसो गर्न पटक्कै मिल्दैन, यो नेतृत्व तहको ठुलो भूल हो,’ आचार्यले भने ।

यस अर्थमा काठमाडौँ महानगरको प्रमुखको मर्यादाले यहाँका मतदाता र उनीहरूको योगदानको पनि मर्यादा कायम राख्छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले प्रस्ताव गरेको मर्यादाक्रमअनुसार महानगरको मेयरको मर्यादा घटाउँदा यहाँका जनताले पुर्‍याएको योगदानको कदरको बेवास्ता गरेको अर्थ लाग्ने स्थानीय बताउँछन् ।

यो त मतभरको मात्र विषय हो । आर्थिक रूपमा पनि काठमाडौँ महानगर अरू महानगरभन्दा निकै सक्षम देखिन्छ । वार्षिक २५ अर्बभन्दा बढीको बजेट विनियोजन गर्ने काठमाडौँ करिब–करिब कर्णाली र सुदूरपश्चिम प्रदेश सरकार सरहकै आर्थिक हैसियतमा देखिन्छ । वर्षको १० अर्बभन्दा बढी राजस्व त काठमाडौँ महानगर एक्लैले उठाउँछ ।

देशका विकट स्थानीय तहलाई आर्थिक सहायता दिने र एम्बुलेन्स किनेर दिन सक्ने हैसियतमा रहेको काठमाडौँ महानगरलाई सरकारले अरू महानगरसरह व्यवहार गर्न नहुने एक स्थानीय बताउँछन् । देशका अरू महानगर र पालिकाले समेत काठमाडौँकै सिको गर्ने भएकाले पनि काठमाडौँप्रतिको बाहिरी दृष्टिकोण फरक हुनुपर्ने कतिपय तर्क गर्छन् । यसका लागि पनि काठमाडौँ महानगरका मेयरको हैसियत अन्यकोभन्दा माथि हुनुपर्ने स्थानीयको माग छ ।

यस्तो छ नयाँ मर्यादाक्रम

१. राष्ट्रपति
२. उपराष्ट्रपति
३. प्रधानमन्त्री
४. प्रधानन्यायाधीश
५. सभामुख, राष्ट्रिय सभा अध्यक्ष
६. पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश ।
७. संविधानसभा अध्यक्ष, पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता ।
८. उपप्रधानमन्त्री, प्रदेश प्रमुख ।

९. संघीय मन्त्री, मुख्यमन्त्री, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, राष्ट्रिय सभा सत्तापक्ष दलको नेता, राष्ट्रिय सभा विपक्षी दलका नेता, सत्तापक्ष संसदीय दलका उपनेता, विपक्षी संसदीय दलका उपनेता, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, पूर्वउपप्रधानमन्त्री, पूर्वप्रदेश प्रमुख, संविधानसभा उपाध्यक्ष, पूर्वउपसभामुख, राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष ।

१०. संघीय संसद्का विषयगत समितिका सभापति, प्रतिनिधिसभाका मुख्य सचेतक, राष्ट्रिय सभाका मुख्य सचेतक, प्रतिनिधिसभाका विपक्षी दलका प्रमुख सचेतक, राष्ट्रिय सभामा विपक्षी दलका प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका सचेतक, प्रदेश सभाका सभामुख ।

११. संघीय राज्यमन्त्री, सर्वोच्चका न्यायाधीश, संघीय सहायक मन्त्री, संघीय सांसद, न्यायपरिषद् सदस्य, संवैधानिक निकायका प्रमुख, नेपाल रत्न पाउने महानुभाव, महान्यायाधिवक्ता, संवैधानिक निकायका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, संघीय पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, संघीय संसद्का पूर्वपदाधिकारी (नेता, सभापति, सचेतक) ।

१२. उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश मन्त्री, प्रदेश सभाका उपसभामुख, संघीय पूर्वराज्यमन्त्री, पूर्वसहायक मन्त्री, प्रदेश सभाका पूर्वसभामुख, संविधान सभाका सदस्य, पूर्वसांसद ।

१३. नेपाल सरकारका मुख्य सचिव, संघीय संसद्को महासचिव, सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार, प्रधानसेनापति ।

१४. प्रदेश सभाको विपक्षी दलको नेता, प्रदेश सभाको सत्तापक्ष दलको उपनेता, प्रदेश सभाको विपक्षी दलको उपनेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलको नेता, प्रदेश सभाको विषयगत समितिको सभापति, प्रदेश सभाको मुख्य सचेतक, प्रदेश सभाको विपक्षी दलको प्रमुख सचेतक, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलको प्रमुख सचेतक, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको सचेतक, नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति, केन्द्रीय विश्वविद्यालयका कुलपति र सहकुलपति (प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने विश्वविद्यालयबाहेक), विश्वविद्यालयको उपकुलपति ।

१५. प्रदेश सरकारको राज्यमन्त्री, प्रदेश सरकारको सहायक मन्त्री, प्रदेश सभा सदस्य, प्रदेश लोकसेवा आयोगको अध्यक्ष, प्रदेश सरकारको पूर्वमन्त्री, प्रदेश सभाको पूर्वउपसभामुख ।

१६. नेपाल सरकारको सचिव एवं राजपत्रांकित विशिष्ट श्रेणी वा सोसरहको अधिकृत, प्रतिनिधिसभाको सचिव, राष्ट्रिय सभाको सचिव, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेश सभाको सचिव, राष्ट्र गौरव पाउने महानुभाव, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक, प्रदेश लोकसेवा आयोगको सदस्य, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक ।

१७. उच्च अदालतको न्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगको उपाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख, महानगरपालिका प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति, विश्वविद्यालयको प्राध्यापक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक, प्रदेश योजना आयोगको सदस्य, प्रदेश सरकारको पूर्वराज्यमन्त्री, प्रदेश सरकारको पूर्वसहायक मन्त्री, प्रदेश सभाको पूर्वसदस्य ।

१८. जिल्ला समन्वय समितिको उपप्रमुख, जिल्ला समन्वय समितिको सदस्य, उपमहानगरपालिका प्रमुख, महानगरपालिका उपप्रमुख, नगरपालिका प्रमुख, उपमहानगरपालिका उपप्रमुख ।

१९. सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशक, गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख, नेपाल सरकारको सहसचिव एवं राजपत्रांकित प्रथम श्रेणी वा सोसरहको अधिकृत, प्रदेश सरकारको सचिव, जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी (राजपत्रांकित प्रथम श्रेणी), नेपालस्थित विदेशी कन्सुलर जनरल, विश्वविद्यालयका सहप्राध्यापक, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक, प्रदेश सरकार तथा स्थानीय तहबाट नियुक्त राजपत्रांकित प्रथम श्रेणीको तहमा कार्यरत अधिकृत, माध्यमिक तह प्रथम श्रेणीका शिक्षक, सार्वजनिक संस्थानका प्रमुख कार्यकारी ।

२०. गाउँपालिका उपाध्यक्ष, नेपाल सरकारको उपसचिव एवं राजपत्रांकित द्वितीय श्रेणी वा सोसरहको अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक, सेनानी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहले नियुक्त गरेको राजपत्रांकित द्वितीय श्रेणी वा सोसरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह द्वितीय श्रेणीको शिक्षक ।

२१. नेपाल सरकारको शाखा अधिकृत एवं राजपत्रांकित तृतीय श्रेणी वा सोसरहको अधिकृत, सहसेनानी, विश्वविद्यालयका सहायक प्राध्यापक, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, उपसेनानी, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत, वडाध्यक्ष, प्रदेश सरकार वा स्थानीय तहले नियुक्त गरेको राजपत्रांकित तृतीय श्रेणी वा सोसरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह तृतीय श्रेणीको शिक्षक, सहायक सेनानी ।