एनआइसी एसियाले दिँदै छ सर्वाधिक लाभांश, कुन बैंककाे कति ?

एनआइसी एसियाले दिँदै छ सर्वाधिक लाभांश, कुन बैंककाे कति ?


काठमाडौँ ।

९ वटा बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । ७ वाणिज्य बैंक र २ वटा विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट  सेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा एनआइसी एसिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, सिटिजन बैंक इन्टरनेसनल, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टड बैंक छन् । यीमध्ये माछापुच्छे, एभरेष्ट, एनआइसी एसिया, सानिमा र सिटिजन बैंकले साधारणसभासमेत सम्पन्न गरी लाभांश पारित गरिसकेका छन् ।

त्यस्तै, २ विकास बैंकमा सांग्रिला डेभलपमेन्ट बैंक र शाइना रेसुंगा डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् । यी बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई क्रमश ५.२६३ प्रतिशत र ११.०५ प्रतिशत लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घाेषणा गरेका वाणिज्य बैंकहरूमध्ये पनि एनआइसी एसिया बैंकले सबैभन्दा बढी लाभांश घोषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने भएको हाे ।

त्यस्तै, सोमबार मात्रै लाभांश घोषणा गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिने भएकाे छ, एभरेस्ट बैंकले १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

सानिमा बैंकले ९ प्रतिशत बोनससहित कुल १४.७ प्रतिशत लाभांश दिने भएकाे छ, माछापुच्छे बैंकले १३.३ प्रतिशत बोनससहित कुल १४ प्रतिशत, सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यी बाहेकका अझै १२ वाणिज्य बैंकले सेयरधनीका लागि लाभांश घाेषणा गर्न बाँकी छ । लाभांश घोषणा गर्न बाँकी रहेका वाणिज्य बैंकमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, एसबिआई बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, नेपाल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंक छन् । त्यस्तै, विकास बैंकमध्ये १४ बैंकले पनि लाभांश घोषणा गरेका छैनन् ।