राष्ट्रपतिबाट कैद मिनाहा पाएका थापा धम्की र अपहरणको आरोपमा पक्राउ

राष्ट्रपतिबाट कैद मिनाहा पाएका थापा धम्की र अपहरणको आरोपमा पक्राउ


चितवन ।
गत जेठ १४ गते राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एक जना व्यक्तिलाई अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको छ ।

९ वर्षको कैद सजाय पाएर जेलमा बसेका तर असल चालचलन भन्दै कैद सजाय छुट पाएर जेलबाट निस्केका भरतपुर महानगरपालिका वडा नं.९ का ५५ वर्षीय रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनलाई भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट मंगलबार पक्राउ गरेको हो ।

थापामाथि २५ लाख रुपैयाँ नदिए भरतपुर महानगरपालिका-१ का सोमराज सुवेदी र उनका १३ वर्षीय छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ ।

सुवेदीले भरतपुर १ मा धनवन्तरी मेडिकल सञ्चालन गर्दै आएका छन् । थापाले सुवेदीलाई फोन गरेर २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।