विराटनगर भन्सारबाट आयात घट्यो: लक्ष्यको ५० प्रतिशत राजस्व उठ्न पनि मुस्किल

विराटनगर भन्सारबाट आयात घट्यो: लक्ष्यको ५० प्रतिशत राजस्व उठ्न पनि मुस्किल


विराटनगर ।
राजस्व असुलीको दृष्टिकोणले वीरगन्ज र भैरहवा भन्सार कार्यालयपछिको तेस्रो ठुलो विराटनगर (रानी) भन्सार नाकाबाट हुने राजस्व संकलनमा कमी आएको छ ।

आर्थिक मन्दीको असर यस नाकाबाट असुली हुने राजस्वमा परेको हो । मन्दीका कारण आयात घट्दा लक्ष्यको ५० प्रतिशत पनि राजस्व संकलन हुन सकेको छैन ।

मासिक रूपमा करिब ४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकामा मुस्किलले २ अर्ब रुपैयाँमात्र संकलन हुँदै आएको भन्सार कार्यालयले जनाएको छ । मासिक रूपमा मात्र नभई वार्षिक रूपमै राजस्व संकलनमा असर देखिएको भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी पर्शुराम दाहाल बताउँछन् ।

‘मासिक रूपमा पनि हामीले लिएको लक्ष्यको समग्रमा ५० प्रतिशत मात्र पु-याउने गरेका छौँ,’ दाहालले विकास टाइम्ससँग भने, ‘हामीले वर्षमा ५५ अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएका छौँ । तर, ३३ अर्ब पु-याउन पनि मुस्किल छ ।’

विराटनगरबाट गत आर्थिक वर्ष २०७९/०८० मा ६० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ३३ अर्ब अर्थात् ५६.२५ प्रतिशत मात्र राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा पनि त्यस्तै अवस्था देखिएको छ ।

कार्यालयले दिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा अन्य महिनाको तुलनामा अलि धेरै राजस्व उठाएको देखिएको छ । सो महिना ३ अर्ब ५० करोड रुपैयाँको लक्ष्य रहेकामा २ अर्ब ८५ करोड अर्थात् ८१.४९ प्रतिशत राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

‘आर्थिक वर्षको पहिलो महिना भएकाले हामीलाई लक्ष्य पनि कम थियो । त्यसकारण तुलनात्मक रूपमा सन्तोषजनक नै संकलन भएको देखिन्छ,’ सूचना अधिकारी दाहाल भन्छन् ।

‘आर्थिक वर्षको सुरु महिनामै निराशा नहोस् भनेर साउनमा कम लक्ष्य राखिएको थियो,’ दाहालले भने, ‘त्यो भएर सुरु महिना अन्य महिनाको तुलनामा बढी राजस्व उठेको देखिएको हो ।’ साउनमा रानी भन्सारले दैनिक १० करोड ९३ लाख रुपैयाँ उठाउने लक्ष्य लिएकामा ८ करोड ९१ लाख रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।

यस्तै, भदौमा यस कार्यालयले ४ अर्ब ४५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, संकलन भने २ अर्ब ५२ करोड ९५ लाख अर्थात् ५६.७६ प्रतिशत मात्र भयो । भदौमा दैनिक १४ करोड ३८ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा दैनिक ८ करोड १६ लाख रुपैयाँ बराबर संकलन गर्न सकेको देखिन्छ ।

यसैगरी असोज महिनामा रानी भन्सारले ४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । तर, सो अवधिमा २ अर्ब ९१ करोड रुपैयाँ अर्थात् ६० प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ । असोजमा दैनिक १६ करोड रुपैयाँ उठाउने लक्ष्य रहेकामा ९ करोड ७१ लाख रुपैयाँ संकलन भएको छ ।

चालु कात्तिक महिनामा रानी भन्सारले ४ अर्ब ४१ करोड ४६ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । तर, त्यो लक्ष्य पूरा हुने कुनै पनि संकेत देखिन्दैन । कात्तिक १२ गतेसम्मको राजस्व संकलनको तथ्यांक हेर्ने हो भने पनि लक्ष्यअनुसार राजस्व उठ्ने देखिँदैन ।

कात्तिक १२ गतेसम्म यस भन्सार कार्यालयले ५३ करोड ३८ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । कात्तिक महिनाका लागि रानी भन्सारलाई दैनिक १४ करोड ७३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य छ । तर हाल दैनिक ४ करोेड ४५ लाख रुपैयाँ बराबर मात्र राजस्व संकलन भइरहेको छ ।

किन घटिरहेको छ आयात ?
आर्थिक मन्दीका कारण व्यापारमा कमी आएको र आयातमा पनि कमी आएको विज्ञहरू बताउँछन् । उपभोक्तासँग पैसा नुहुनु, अर्थिक मन्दी हुनु, उपभोग गर्ने युवा पुस्ता बिदेसिनु जस्ता कारणले पनि आयतमा कमी आएको सूचना अधिकारी दाहाल बताउँछन् ।

‘बजार चलायमान छैन, निर्माण क्षेत्रको पनि कुनै काम भएको छैन,’ दाहालले भने, ‘दैनिक उपभोग्य वस्तुबाहेक अन्य निर्माणका सामान खासै आयात भएको छैन । आयात भए पनि नगन्य छ ।’

व्यापारमा ४० देखि ५० प्रतिशतसम्म कमी आएका कारण आयातमा कमी आएको उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका पूर्वअध्यक्ष टीकाराज ढकाल बताउँछन् । ‘व्यापार घटेपछि व्यापारीले अन्य सामान पनि मगाउँदैनन्,’ ढकालले विकास टाइम्ससँग भने, ‘सामान ल्याएर स्टक गर्ने कुरा पनि भएन, स्टक गर्दा पनि बैंकको ब्याज मात्र तिर्नुपर्छ ।’

आर्थिक मन्दीको असर नराम्रोसँग देखिएको ढकालको भनाइ छ । ‘आयात कम हुनुमा मुख्य कुरा त आर्थिक मन्दी नै हो,’ उनले भने, ‘उद्योगमा खपत हुने कच्चा पदार्थमा पनि अहिले धेरै कमी आएको छ ।’