स्थानीयको ‘काल’ बन्दै मर्चवारको दुईमोहान घाट, छैन सुरक्षा व्यवस्था

स्थानीयको ‘काल’ बन्दै मर्चवारको दुईमोहान घाट, छैन सुरक्षा व्यवस्था


लुम्बिनी ।

दुर्गा मूर्ति विसर्जनका लागि गएका अजयकुमार नाउँ घर फर्किन पाएनन् । कोटहीमाई गाउँपालिकास्थित दानव खोलाको दुईमोहान घाटमा सँगै गएका उनका सहपाठी अजय राजभर र सन्तकुमार राजभर पनि २०८० असोज ७ गते सदाका लागि जलमै अस्ताए ।

२०७८ कात्तिकदेखि प्रहरी जवान पदमा कार्यरत २४ वर्षीय नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा सेवारत थिए । उनी दसैँ मान्न २ दिन पहिलेदेखि बिदामा थिए । उनीसँगै डुबेर मृत्यु भएका १८ वर्षीय अजय राजभर २० वर्षीय सन्तकुमार राजभरका काकाका छोरा थिए ।

यसअघि २०७९ जेठ ३१ गते नुहाउन गएका कोटहीमाई गाउँपालिका–५ मझगावाका २२ वर्षीय विजयप्रकाश यादवको पनि मृत्यु भएको थियो । २०७८ असोज ३० गते शनिबारका दिन कोटहीमाई–४, कदमहवाका १९ वर्षीय अनिल कुर्मी खेल्दाखेल्दै दानव खोलामा डुबेका थिए ।

दसैँ पूजाका लागि बनाइएको दुर्गा मूर्ति विसर्जनका क्रममा दिउँसो २ बजे खोलामा हराएका उनको शव राति ८ बजे मात्र फेला परेको थियो ।

२०७७ साल असोजमा पनि त्यस्तै घटना भएको थियो । साथीहरूको लहैलहैमा दुर्गा मूर्ति विसर्जनका लागि गएका सम्मरीमाई गाउँपालिका–६ महदेइयाँका १६ वर्षीय मुकेश कुर्मी हेर्दाहेर्दै हराएको झन्डै २० घन्टापछि स्थानीय गोताखोरले उनको शव फेला पारेका थिए । मुकेश आफ्ना आमा–बाबुका एक्लो सन्तान थिए ।

२०७६ सालमा कोटहीमाई–१ पुर्निहवाबाट मूर्ति स्थापनाका लागि जल भर्न गएको टोलीसँगै रहेका एक भारतीय युवकको डुबेर मृत्यु भएको थियो । प्रहरीको रेकर्ड हेर्ने हो भने सोही वर्ष कोटहीमाई–५, भंगहियाका १८ वर्षीय मुनिक्का चौबे र २०७५ सालमा जल भर्ने क्रममा कोटहीमाई–५ कै एक बालिकाको डुबेर मृत्यु भएको थियो ।

रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाउँपालिका–१ र ५ स्थित दानव र तिनाउ खोलाको संगमस्थल दुईमोहान घाट मर्चवारबासीका लागि धार्मिक क्रियाकलाप गर्ने मुख्य थलो हो । जहाँ मूर्ति विसर्जन र जल भर्नेलगायत धार्मिक कार्य गरिन्छ । त्यही घाटमा डुबेर बर्सेनि मानिसहरूको मृत्यु भइरहँदा पनि आवश्यक सतर्कता र सुरक्षा व्यवस्था भने छैन ।

यसरी सोही ठाउँ दुईमोहान घाटमा डुबेर मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दो छ । त्यहाँ डुब्दै गर्दा उद्धार भई ज्यान जोगिएकाहरूको संख्या पनि कम्ती छैन । २०७५ सालमा गैडहवा गाउँपालिका, रुपन्देहीकी २० वर्षीया एक युवतीलाई खोलामा डुबेर बग्दै जाँदा स्थानीय गोताखोरहरूले उद्धार गरी ज्यान जोगाएको अधिकारकर्मी अनिल माझीले बताए ।

‘धार्मिक प्रयोजनका लागि जल भर्ने कार्य होस् या मूर्ति विसर्जनलगायत कार्यक्रम, बर्सेनिजसो १ वा २ जनाको एउटै ठाउँमा डुबेर मृत्यु भइरहँदा स्थानीय सरकारको व्यवस्थापनमाथि प्रश्न तेर्सिन्छ,’ मर्चवार युवा जागरण क्लबका अध्यक्ष मोहम्मद आरिफले भने, ‘स्थानीय सरकारसँगै स्थानीय प्रहरी प्रशासन समेतले यसको जिम्मेवारी लिनुपर्छ ।’

मूर्ति विसर्जन, कार्तिक पूर्णिमाको नहानमेला र धार्मिक प्रयोजनका लागि जल भर्ने क्रममा सोही ठाउँमा बर्सेनि युवा–युवतीहरू डुबेर मृत्यु भइरहँदा केहीको उद्धार गर्न सकिए पनि धेरैलाई बचाउन सकिएको छैन ।

घटनाक्रममा केही वर्षयता कम्तीमा पनि बर्सेनि १/२ जनासम्मको ज्यान जाने गरेको इलाका प्रहरी कार्यालय मझगावाको तथ्यांक छ । त्यहाँ पानीको गहिराइ र बहाव पनि उच्च छ । कुनै पनि कारणले नदीको पानीमा डुब्ने जोकोहीको पनि ज्यान जोगिने सम्भावना कमै हुन्छ । त्यसैले सो ठाउँ सबैका लागि जोखिमपूर्ण रहेको भन्दै इलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले त्यसो हुन नदिन आगामी दिनमा कडाइका साथ सञ्चार, सहकार्य र व्यवस्थापन गर्ने बताए ।

‘एउटै स्थानमा डुबेर मृत्यु हुने घटना बर्सेनि बढ्दै गर्दा, स्थानीय प्रहरी, प्रशासन र सरकारलाई पनि विशेष चुनौती थपेको छ । सुरक्षा र उद्धार प्रयासमा भरपर्दो साथ पुगेको छैन,’ सामुदायिक विपत् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले भने, ‘यति भन्दैमा हामी पनि हाम्रो कर्तव्यबाट विमुख हुन मिल्दैन । जोखिमपूर्ण ठाउँमा त्यस्ता कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्नुपर्छ ।’

‘कुनै पनि अभिभावकले आफ्ना बच्चाहरूलाई जोखिमयुक्त ठाउँमा जानीजानी जान दिनु भनेको मृत्युको मुखमा धकेल्नु हो भन्दा फरक पर्दैन,’ जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक भरत बहादुर विश्वकर्माले भने, ‘मैले मातहतका प्रहरी कार्यालयहरूलाई सहकार्यसहित सहयोग, सुरक्षा र उद्धारका लागि आवश्यक निर्देशन दिएको छु ।’ दसैँतिहार लक्षित जनचेतनामूलक कार्यक्रमहरू पनि भएको उनले बताए ।

‘दुईमोहान घाटमा बढ्दो दुर्घटना चिन्ताको विषय हो,’ जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘दुर्घटना न्युनीकरण गर्न नीतिगत हिसाबले जानुपर्छ, तिहारभन्दा पहिले नै मर्चवारका तीन वटै पालिका प्रमुखहरूसँग यसै विषयमा केन्द्रित भई बैठक बस्दै छौँ ।’

त्यहाँबाट मूर्ति विसर्जनलगायतका धार्मिक कार्यक्रमका लागि निश्चित ठाउँ र सुरक्षा सतर्कताबारे आवश्यक निर्णय लिने उनले बताए ।

मूर्ति विसर्जनका सन्दर्भमा सम्बन्धित पालिकाबाट लाइफ ज्याकेटको व्यवस्था गराउन पहल भइरहेको प्रजिअ अधिकारीले बताए । लाइफ ज्याकेट नलगाउनेलाई मूर्ति विसर्जनमा प्रतिबन्ध लगाउने निर्णय हुन सक्ने भन्दै अन्य समयमा पनि उक्त ठाउँमा हुने दुर्घटना न्यूनीकरणका लागि विपद् क्षेत्रमा काम गर्ने संघसंस्था र सरोकारवालाहरूसँग समेत छलफल गरी नीतिगत हिसाबले सुरक्षा प्रबन्ध मिलाउने उनले जानकारी दिए ।

‘हामीसँग तालिम प्राप्त दक्ष जनजनशक्तिको अभाव छ । विशेष गरेर चाडपर्वका बेला प्रायः मानिसहरू उत्तेजित हुन्छन्, त्यसैले सक्दो प्रयासका बाबजुद घटनाक्रम रोक्न नसक्नु निकै नै दुःखद् हो,’ कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले भने, ‘खुसी साटासाट गर्नुपर्ने चाडपर्वका बेला त्यस ठाउँमा बर्सेनि डुबेर मृत्यु हुने गरेकाले अब भने त्यसो हुन नदिन विशेष सुरक्षा योजनासहित व्यवस्था मिलाइँदै छ ।’

दुईमोहान घाटको घटना होस् या अन्य कुनै, मर्चवारमा सबै उद्धारका काम स्थानीय गोताखोर र तैराकहरूले नै गरेको त्रिपाठीले बताए । उनले भने, ‘मुकेश कुर्मी, अजयकुमार नाउँ, अजय राजभर र सन्तकुमार राजभरको शव पनि स्थानीयले नै फेला पारेका हुन् । यद्यपि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको अथक प्रयास पनि कम्ती छैन ।’ आगामी दिनमा विपद् व्यवस्थापन र खोज तथा उद्धारका लागि स्थानीय युवाहरूलाई सोसम्बन्धी तालिमको व्यवस्था गर्ने उनले बताए ।

विपद्का बेला स्थानीय स्रोत र साधन सर्वप्रथम र प्रभावकारी हुन्छ, त्यसैले यस्ता घटना रोक्न र उचित सुरक्षा व्यवस्था गर्न सरकारको सहयोगको आवश्यकता छ । त्यसैले जनताको सुरक्षा र बचाउका लागि सामुदायिक साझेदारी र मिलनसारी कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । साथै दुर्घटनाको कारण र उपचारका लागि व्यवस्था गर्नुपर्ने प्रावधानहरू सुनिश्चित गर्न तथा जनताको जीवन सुरक्षित राख्न सशक्त निर्णय लिनुपर्ने आवश्यकता रहेको गाउँपालिका अध्यक्ष त्रिपाठीको भनाइ छ ।