इमानदार प्रहरी जवान, जसले भेट्टाएको ९ लाख फिर्ता गरे

इमानदार प्रहरी जवान, जसले भेट्टाएको ९ लाख फिर्ता गरे

विकास टाइम्स
2.6k
Shares

एउटा प्रचलित उखान छ– धन देखेपछि महादेवका ३ नेत्र । जानाजान ठगी गर्नेको बाहुल्य बढेको नेपाली समाजमा यस्ता पनि व्यक्ति छन्, जसले सडक छेउमा भेट्टाएको ९ लाखभन्दा बढी रुपैयाँ पैसाधनी खोजेर फिर्ता गरे ।

उनको मनमा लोभ पलाएको भए उनले त्यो रकम लुकाउन सक्थे । किनकि त्यो पैसा भेट्दा उनी एक्लै थिए । कसैले देखेको थिएन । अहँ उनको मनले यस्तो पाप चिताएन । बरु यो पैसा हराउने व्यक्तिको मन कति रोएको होला भनेर उनलाई भतभती पोल्यो ।

घटना हो– महोत्तरीको बर्दिबासको । पेट्रोलिङका क्रममा बर्दिबासमा प्रहरीले भेट्टाएको ९ लाख रुपैयाँ जिम्मा लगाइएको छ । अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पसलका सञ्चालक जगदीश महतोको एकिन भएपछि महतोलाई हस्तान्तरण गरिएको हो ।

उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु खड्का, व्यवसायीहरू गुञ्ज कार्की, ज्ञानबहादुर राउत, पत्रकारलगायतको रोहबरमा महतोलाई रकम हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

कालो झोलाभित्र रहेको ९ लाख ५६२ रुपैयाँ महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए ।

 कसरी फेला परेको थियो नगद ?

३ असोजको राति इलाका प्रहरी कार्यालय गौरीडाँडाको प्रहरी बिट भोला वसन्त चोकबाट प्रहरी जवान अजय मण्डल पेट्रोलिङ गरिरहेका थिए ।

पेट्रोलिङका क्रममा ५० मिटर पर महतो किराना पसल नजिक पुगेपछि उनले एउटा कालो झोला देखे । झोलालाई आफैँले बोकेको लौरोले यताउता चलाए । खासै शंकास्पद नभएको अनुमान लगाएपछि सोही लौरोले ताने अनि खोलेर हेरे ।

खोलेर हेरेका मात्र थिए, झोलाभरि पैसा नै पैसा देखेपछि उनी झसंग भए । तत्काल प्रहरी बिटका इन्चार्ज असई मनसुरी गदीलाई जानकारी गराए । गदीले इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवलाई जानकारी गराए ।

यादवले केही स्थानीयहरूको रोहवरमा पैसा गन्नु र गनेको पैसाको भिडियो पनि बनाउन निर्देशन दिए । पैसा गन्ने क्रममा महतो किराना पसलका केही बिलहरू भेटिए । पैसा गनिसक्दा जम्मा ९ लाख ५६२ रुपैयाँ रहेको एकिन भयो ।

भोलिपल्ट बिहान ९ लाख रुपैयाँ भेट्टाएको विषयमा निकै खैलाबैला भयो । महतो किराना पसलको पैसा हुन सक्ने केही आधारहरू देखिएपछि स्थानीयले महतोलाई पनि जानकारी दिए ।

हप्ता दिनसम्म महतोबाहेक कसैले पनि पैसा दाबी गर्न नआएपछि प्रहरीले उनकै पैसा भएको निष्कर्ष निकाल्दै सोमबार पैसा जिम्मा लगाएको हो ।

महतो भन्छन् : प्रहरी मेरा लागि भगवान जस्तै बने

पैसा हराएको थाहा पाएदेखि निकै चिन्तित बनेका महतोले प्रहरीको इमानमाथि नतमस्तक भएको बताए ।

‘व्यापार भएको पैसा र अन्य पैसा भोलिपल्ट बैंकमा राख्ने भनेर स्टाफलाई भनेको थिएँ । झोला त बिर्सेर बाहिर नै छाडेँछु,’ उनले भने ।

पैसा यदि प्रहरीबाहेक अरूले भेट्टाएको भए भेट्न असम्भवजस्तै रहेको बताउँदै उनले यो खुसियालीमा प्रहरी बिट तथा अन्य केही भौतिक संरचना बनाइदिने घोषणा गरेका छन् । २५ हजार रुपैयाँ बराबरको संरचना बनाइदिने महतोले बताए ।

व्यापार मन्दीको यो समयमा त्यति ठुलो रकम फेला पार्ने प्रहरी जवान मण्डललाई उनले धन्यवाद दिए ।

प्रहरी सर्वसाधारणको साथी मात्र होइन, गतिलो भरोसा पनि हो भन्ने विषयलाई प्रहरी जवानले देखाएको जिम्मेवारीप्रतिको इमानले प्रमाणित गरेको स्थानीय बताउँछन् ।