रिगल प्रकरण : सर्वोच्चले सुनायो भारतीको पक्षमा फैसला

रिगल प्रकरण : सर्वोच्चले सुनायो भारतीको पक्षमा फैसला


काठमाडौँ ।

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।

न्यायाधीश खतिवडाले इजलासमा आदेश सुनाउँदै भने, ‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुनविपरीत देखिएकाले बदर हुने। सरकारको निर्णय संविधान र कानुनका व्यवस्था र अदालतले दिएका फैसलाहरू अनुकूल देखिएन। बाँकी कैद मिनाहा गर्दा वस्तुगत कारण खुलाएर मात्रै गर्नुपर्ने देखियो।’

चेतनको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई संविधान दिवसको अवसरमा सरकारले बाँकी कैद माफी दिएपछि जेलबाट छुटेका थिए ।

उक्त निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।