पालिका उपाध्यक्षले कुटे ‘हाकिम’

पालिका उपाध्यक्षले कुटे ‘हाकिम’


लुम्बिनी ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात गरेका छन् । ज्ञवालीलाई उपाध्यक्ष चौधरीले बिहीबार दिउँसो २ बजे हातपात गरेका हुन् ।

आफ्नै कार्यकक्षमा बसेर पत्रकारहरूसँग कुराकानी गर्दै गरेको अवस्थामा उपाध्यक्ष चौधरीले एक्कासि प्रवेश गरेर आफूलाई गालीगलौज र दुर्व्यवहार गर्दै हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

उपाध्यक्ष चौधरीले आफूलाई २ झापड हान्दै गालीगलौज र दुर्व्यवहार गरेको ज्ञवालीले बताए । उनले भने, ‘उपाध्यक्ष चौधरीले मेरो कठालो समातेर तथानाम गाली गर्दै नेम प्लेट र टेबलमा समेत हिर्काएका थिए ।’

आफ्नै कार्यकक्षमा आफूमाथि कुटपिट भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले त्यहाँ काम गर्न सक्ने स्थिति नरहेकाले सुरक्षाको माग गरेको बताए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई पत्र लेख्दै उनले चौधरीलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गरेका छन् ।

त्यसैगरी गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमाथि कारबाही नहुँदासम्म गाउँपालिका र वडाहरूको सम्पूर्ण काम कारबाही बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष चौधरीले हातपात गर्ने उपाध्यक्षमाथि कारबाही नभएसम्म गाउँपालिका र वडाका सेवा बन्द रहने बताए ।

उपप्रमुख चौधरीले भने आफूले हातपात नगरेको दाबी गरेका छन् । आफू जिल्ला प्रहरी कार्यालयमा जाने काम परेकाले गाडीको चाबी माग्दा नदिएपछि भनाभन मात्र भएको उनले बताएका छन् । उनले टेबल भने ठटाएको स्वीकार गरेका छन् ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घटनाका दोषीलाई कारबाही हुने बताएका छन् । गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीबीच पहिलैदेखि मनमुटाव थियो ।