बर्दिबासस्थित मध्यपाषाण युगको हतियार कारखानाबारे पुरातत्वविद्हरूको चासो

बर्दिबासस्थित मध्यपाषाण युगको हतियार कारखानाबारे पुरातत्वविद्हरूको चासो


महाेत्तरी ।

महोत्तरीको पाटुमा भेटिएको मध्यपाषाण युगको हतियार कारखानाबारे पुरातत्वविद्हरूले चासो देखाएका छन् ।

पुरातत्वविद् प्रकाश दर्नालले गुड्रन कार्विन्सले पत्ता लगाएको हतियार कारखानाको थप अनुसन्धान र खोजी गरी संरक्षित क्षेत्र घोषण गर्नुपर्ने बताए ।

कार्विन्सले १९८५ मा बर्दिवास-३ स्थित पाटुमा फेला पारेको १० हजार वर्ष पुरानो हतियार कारखाना पुरातात्विक सम्पदाको हिसाबले महत्वपूर्ण भएको बताउँदै स्थानीय सरकारले विशेष चासो दिनुपर्ने उनकाे सुझाव छ ।

लामो समयदेखि पुरातात्विक सम्पदाकै क्षेत्रमा कलम चलाउँदै आएका गोविन्द न्यौपानेले स्थानीय सरकारको पहलकदमीलाई नै जोड दिएका छन् ।

कार्विन्सले आफ्नो किताब (प्रिहिस्टाेरिक कल्चर्स इन नेपाल भोलुम १, पुष्ठ २३९, सन् २००७) मा अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेकी थिइन् ।

यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा मध्यपाषाण युगका हजारौँ हतियार भेटिएपछि यो नै मध्यपाषाण युगको हतियार कारखाना भएको उनकाे निष्कर्ष थियो ।

पछिल्लो समय स्थानीय पत्रकारहरूले यसकाे विषयमा थप खोजी गर्न थालेपछि चर्चा चुलिँदै गएको छ ।

पाटुमा फेला परेका केही हतियारलाई राष्ट्रिय पुरातात्विक केन्द्रमा पनि संगृहित गरिएको छ ।

तर, चुरे दोहन र उत्खननका कारण कार्विन्सले पत्ता लगाएका हतियारहरू नै हराउन सक्ने खतरा बढेको छ ।

स्थानीयको अतिक्रमण, व्यवसायीहरूको नदीजन्य पदार्थको उत्खनन जस्ता समस्याले थप संवेदनशीलता अपनाउनुपर्ने स्थानीयहरू बताउँछन् ।

समाचारको माध्यमबाट प्रचारप्रसार भएपछि यसकाे थप खोजीमा जुटेका केही स्थानीयले उत्खननका कारण यो पुरातात्विक सम्पदा नै जोखिममा रहेको गुनासो गरे ।

केही हतियारका अवशेषसमेत संकलन गरेर राखेका स्थानीय रमेश खत्री ट्याक्टरले त्यस्ता अनौठा ढुंगाहरू उठाउने गरेको बताउँछन् ।

अविलम्ब यो ठाउँलाई सुरक्षित गरी पुरातात्विक सम्पदाको जगेर्ना गर्न स्थानीयले जनप्रतिनिधिहरूसँग माग गरेका छन् ।

ठाउँको पहिचान गरी उक्त क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा घोषणा गर्नुपर्ने उनीहरूको सुझाव छ ।