विश्व शान्तिका लागि लुम्बिनीदेखि सगरमाथा आधार शिविरसम्म शान्ति दीप

विश्व शान्तिका लागि लुम्बिनीदेखि सगरमाथा आधार शिविरसम्म शान्ति दीप


लुम्बिनी ।

हिमालयमा परेको जलावयु परिवर्तनको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।

शुक्रबार नेपाल पर्वतारोहण संघले विश्व शान्तिको कामनाहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न शान्ति दीप कालापत्थरमा लगेको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा (खेन्पो छिमे) ले शान्ति दीपमा दीप प्रज्ज्वलन गरेर उक्त दीप सगरमाथाको आधार शिविरतर्फ लैजान हस्तान्तरण गरे ।

उपाध्यक्ष डा. लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पिड), नेपाल पर्वतारोहण संघका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही संघका महासचित शिवबहादुर सापकोटालाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

उपाध्यक्ष डा. लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लुम्बिनी शान्ति दीपबाट दीप प्रज्ज्वलन गरेर सगरमाथाको आधार शिविर लैजाँदा सकारात्मक सन्देश प्रवाह हुने बताए । उनले विश्व मानव जगत्मा जलवायु परिवर्तनको असरसँगै द्वन्द्व पनि बढिरहेको अवस्थामा पर्यटन मन्त्रालयअन्तर्गत शान्ति भूमि लुम्बिनीबाट विश्वको सर्वोच्च शिखरमा दीप लैजाने कार्य गर्वको विषय भएको बताए ।

शान्ति दीपमा दीप प्रज्ज्वलन गराएपछि उक्त दीपलाई लामा गुरुहरूबाट स्वस्ति शान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो ।

उक्त दीप कात्तिक १९ गते आइतबार साँझसम्म काठमाडौँ पु¥याइने र सगरमाथा आधार शिविर कालापत्थर पु¥याइने नेपाल पर्वतारोहण संघले जनाएको छ । उक्त स्थानमा नेपालको राष्ट्रिय झन्डा फहराउने र दीप प्रज्ज्वलन गरिनेछ ।

कात्तिक २५ शनिबार एक समारोहका बीच कालापत्थामा सम्पन्न हुने कार्यक्रमबाट विश्वको ध्यान पुनः एकपटक नेपालतर्फ केन्द्रित हुने संघका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेलले बताए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे राष्ट्रसंघको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलदायी हुने पोखरेलले बताए ।

२०६६ सालमा आयोजना गरिएको कोप–१५ मा सगरमाथा आरोहण टोलीले डेनमार्क पुगेर मार्चपास गरेको थियो । अन्तर्राष्ट्रिय अल्पाइन संगठनहरू युटिएए र भिएएको साधारणसभामा संघले ध्यानाकर्षण गर्दै आए पनि प्रभावकारी प्रतिफल उपलब्ध हुन सकेको छैन ।