भुइँचालोले रूकुम र जाजरकोटमा कम्तिमा ३५ जनाको मृत्यु

भुइँचालोले रूकुम र जाजरकोटमा कम्तिमा ३५ जनाको मृत्यु


काठमाडौं । गएरातीको भुकम्पमा परी जाजरकोट र रुकुममा ३५ जनाको मृत्यु पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३५ जनाको मृत्यु छ भने ४० बढी घाइते भएका छन् ।

उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्दारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए । उनले भने, ‘ भूकम्प गएको थाहा पाउनासाथ हामीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्दार टोली खटाइसकेका छौं।

रातिको समय भएकाले सबै घरमा सुतेका हुन्छन् । भत्किएको घरमा पुरिएकाहरुको उद्दारका लागि हाम्रा साथीहरु परिचालन भइसक्नुभएको छ ।’ रातीको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा नै ज्यादा क्षति पुगेको छ ।