विमानस्थलमै हानाहान गर्ने २ पाइलटले प्रहरीमा गरे मिलापत्र

विमानस्थलमै हानाहान गर्ने २ पाइलटले प्रहरीमा गरे मिलापत्र


रामेछाप ।

रामेछापको मन्थली विमानस्थलमा शुक्रबार झगडा गरेका तारा एयरका दुई क्याप्टेनले प्रहरीसमक्ष मिलापत्र गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापमा भएको दुई पक्षबीचको छलफलपछि वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच सहमति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । क्याप्टेन श्रेष्ठले साहसँग माफी मागेपछि उनीहरुवीचको झगडा मिलेको प्रहरीले जनाएको छ ।

क्याप्टेन सञ्जीव श्रेष्ठले साहलाई लडाएको भन्दै विवाद भएको थियो ।

रामेछापका प्रहरी प्रमुख (डिएसपी) होमबहादुर पराजुलीका अनुसार श्रेष्ठले साह आफ्नो गुरु भएकोले अञ्जानवस सो घटना भएको भन्दै माफी मागेका थिए । साहलाई आफूले नियतवस नलडाएको र लडाउने कुनै योजना पनि नभएको तर हात मिलाउन खोज्दा घटना भएको बताए ।

दुवैले आत्मालोचना गर्दै मेलमिलाप गरेका पराजुलीले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भने दुवै पाइलटलाई निलम्बन गरिसकेको छ । घटनाको छानबिन पछि उनीहरूको लाइसेन्स खारेज गर्ने वा अन्य सजाय गर्ने बारे निर्णय लिइनसकेको प्राधिकरणले जनाएको छ ।

उता प्राधिकरणको मन्थली कार्यालयका प्रमुख अशोक थापालाई पनि प्राधिकरणले कारबाही गरेको छ । पाइलटबीच हात हालाहाल भएपछि दुबैलाई ग्राउण्डेड गर्नु पर्नेमा क्याप्टेन श्रेष्ठलाई लुक्ला उडान गर्न अनुमति दिएका कारण नागरिक उड्ययन प्राधिकरण रामेछापका प्रमुख अशोक थापालाई प्राधिकरणले निलम्बन गरेको छ ।

साहसँग झगडा गरेपछि श्रेष्ठ जहाज लिएर लुक्ला उडेका थिए । प्राधिकरणले उनलाई लुक्लामा ग्राउण्डेड गराएको थियो । साहले रामेछाप प्रहरीमा उजुरी गरेपछि श्रेष्ठलाई प्रहरीले रामेछाप झिकाएको थियो । उनी सोलुबाट रामेछाप आउने जहाजमा यात्रीका रूपमा मन्थली आएर जिल्ला प्रहरी कार्यालय रामेछापमा हाजिर भएका थिए ।