मर्चवारबाट भौतिक पूर्वाधार विकासमन्त्रीले भने-‘मान्छे हारे पनि ठाउँ नहारोस्’

मर्चवारबाट भौतिक पूर्वाधार विकासमन्त्रीले भने-‘मान्छे हारे पनि ठाउँ नहारोस्’


लुम्बिनी ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले मान्छे जित्नुभन्दा ठाउँ जित्नुपर्ने बताएका छन् ।
मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले, ‘मान्छे हारे पनि ठाउँ नहारोस् भन्ने मान्यता हुनुपर्नेमा यहाँ पटक–पटक मान्छे जिते, तर ठाउँ हार्ने परिस्थिति रहेकाले विकासमा पछाडि परेको बताएका हुन् ।सदनमा सबैभन्दा बढी रुपन्देहीको मर्चवार र अर्को बर्दियाको कुरा उठ्ने गरेको स्मरण गर्दै उनले भने, ‘बर्दियामा वन्यजन्तु आतंकको कुरा र मर्चवारमा किसान र विकासको गहन कुरा सदनमा बढी उठ्ने गरेको छ ।’

उनले आफ्नो निर्वाचन क्षेत्र बर्दियाको राजापुरसित दाँज्दै भने, ‘जसरी यहाँका माननीयज्यूहरूले मर्चवारको सर्वा‌गीण पक्षलाई समेटन खोज्नुभएको छ, सांसदको हैसियतले मैले पनि राजापुरको सर्वांगीण पक्षलाई समेट्न खोजेको छु ।’उनले भने, ‘प्रदेशकै गौरवका रूपमा रहेको मर्चवार लिफ्ट सिँचाइ योजनामा एउटा मात्र समस्या छ, जहाँ पैसाको अभाव छ ।’ यहाँको ४ लेन सडकको कुरा गर्दा कानुनी अड्चन र समन्वयको अभाव मात्र रहेको उनले बताए ।

‘कानुन त हामीले नै बनाउने हो,’ उनले भने, त्यो त मिलिहाल्छ । तर, समन्यवको अभावमा संघले प्रदेशलाई र प्रदेशले संघलाई पन्छाउने काम भइरहेको छ । स्थानीयले पनि केही कमी गरे होला जसले गर्दा समस्या सडकमै छ ।’आज यतिका गौरवका योजनाहरू सडकमा राखेर प्रदेश सरकारको नेतृत्व गरिरहदा मलाई पनि लाजको अनुभव भएको छ’ उनले भने, ‘म मेरो बाटोमा काम गर्दै छु, प्रयास म गर्न चाहिरहेको छु, तर यो काम सबैको साझा हो ।’

मर्चवार सपार्ने काममा सबैले साथ दिन आग्रह गर्दै मन्त्री चौधीले भने, ‘हाम्रो लाज सडकमा नछाडौँ, सबैजनाले आ–आफनो तरिकाबाट इमान्दार भई अगाडि बढ्यो भने राजा फालेर गणतन्त्र त ल्याइहाल्यौँ । यो रूख ठुलो समस्या छैन ।’
मर्चवारको मुख्य ४ लेन सडक बनाउने काममा बाधक बनेको मर्चवार सामुदायिक वनका रूखहरूको कटान सम्बन्धमा वन मन्त्रालयसँग पटक(पटक अन्तर्क्रिया गरेको सुनाउँदै मन्त्री चौधरीले समस्याको छिटै समाधान हुने बताए ।

 

विभेद र बजेट अभावमा मर्चवार पछि परेको हो : पूर्वमन्त्री खाँन

कार्यक्रममा रुपन्देही क्षेत्र नं. ४ ‘ख’ का प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री वसिउद्दीन खाँनले सरकारी विभेद र बजेट अभावमा मर्चवार लिफ्ट सिँचाइ आयोजनाले लक्ष्य अनुसारको सेवा दिन नसकेको बताए ।

उनले रुपन्देहीमा अन्नको भण्डार भनेर चिनिने किसानको क्षेत्र मर्चवारलाई पूर्ण रूपले सिञ्चित हुनेगरी यहाँको नहर सञ्जाललाई मर्मत तथा पुनर्निर्माण हुने गरी बजेट उपलब्ध गराउन भौतिक पुर्वाधार विकासमन्त्री चौधरीसँग माग गरे ।

मर्चवारमा बेथरी–खैरा ४ लेनको सडक निर्माणका लागि २०७७ सालमा भएको ठेक्का सम्झौता कार्यान्वयन हुन नसकेको दुःखेसो पोख्दै पूर्वमन्त्री खाँनले सरकारकै कारण साइड क्लियर नभएको हुँदा अवरोध उत्पन्न भएको बताए ।उनले साइड क्लियरेन्स गराउन स्थानीय सरकारसँग अग्रहसमेत गरे । बेथरी–खैरा ४ लेन सडक निर्माणमा अवरोध गरेका रूखहरू सम्बन्धित निकायले २ महिनाभित्र नहटाए त्यसको कडा जबाफ दिने उनले चेतावनी पनि दिए ।

सदियौँदेखि सरकारी विभेदका कारण वन्चितीकरणमा परेको रुपन्देहीको दुर्गम मानिने मर्चवार क्षेत्रले अब विकासको गति लिने उनले बताए । अहिलेको पालामा मात्र ३ पालिका समेटेको मर्चवार क्षेत्रले अर्बौँ बजेट देखेको दाबी गरे ।

विकास कार्यमा बिलम्ब भए आन्दोलन गर्छौँ : कन्हैया बनिया
मर्चवारको समस्याबारे सदनमा पटक–पटक आवाज उठाउदा पनि सम्बोधन हुन नसकेको प्रदेशसभा सदस्य कन्हैया बनियाले बताए । उनले भने, ‘मर्चवारको मुख्य बाटोको निर्माण कार्य नै अलपत्र छ, यहाँ विकासको अन्य कुरा गर्न गाह्रो भयो ।’प्रदेशसभा सदस्य बनियाले मर्चवारको बाटो निर्माणमा बाधक बनेका रूखहरू समयमै कटानका लागि पहल गर्न मन्त्री चौधरीलाई आग्रह गर्दै भने, ‘मर्चवारको बाटो र विकास निर्माण कार्यमा बिलम्ब भए सडक र सदन दुवै ठाउँबाट आन्दोलन थाल्ने छु ।’

‘यहाँ न सडक छ, न सुविधा सम्पन्न अस्पताल, न त कृषि उर्बर भूमिका लागि सिँचाइको प्रयाप्त सुविधा नै छ,’ बनियाले भने, ‘सरकारले विकासका हरेक योजनाहरू उत्तरी क्षेत्रबाट मात्र सुरु गर्ने गरेकाले मर्चवार पिछडिएको छ, त्यसैले अब दक्षिणबाट हुनुपर्‍यो ।’मर्चवार लिफ्ट सिँचाइ परियोजना, जुन अर्बौँको लगानीमा धेरै पहिला निर्माण गरिएको हो, त्यसलाई संघ र प्रदेश सरकारले मर्मत सम्भार र सञ्चालनसम्म गर्न सकेन भने जनताले आन्दोलनमार्फत् ल्याएको संघीयताको कुनै अर्थ नरहने उनले बताए ।

जगन्नाथप्रसाद कुर्मीको सञ्चालन तथा मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष नजिर अहमद खाँको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी र सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तवले नहर बनाउन गाउँपालिकाबाट आवश्यक बजेट विनियोजन गर्न तयार रहेको बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुनिल पौडेल, वडाध्यक्षहरू सञ्जयकुमार सैनी र शशिदयाल चौधरीलगायतले मर्चवारको समस्याबारे बोलेका थिए।