चतरा हाइकिङसँगै दसैँको मैझारो

चतरा हाइकिङसँगै दसैँको मैझारो

मासुको हरर्र बास्ना आउँदा कतिबेला खाइहालौँ जस्तो भो !


गएको कोजाग्रत पूर्णिमाको दिन (शनिबार) बिहान सुतिरहेको थिएँ । सिरानीमा राखेको फोन बज्यो । यसो सिरकबाट मुन्टो निकालेर चिहाएँ । ब्लास्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक नवराज विष्ट दाइको रहेछ । ‘यो एकाबिहानै किन फोन गर्नुभो दाइले’ भन्ने लाग्यो । नउठाउँ कि !आ ! उठाउँछु भन्दै उठाएँ । ‘भाइ हिजो त हाइकिङ जाने भन्थ्यौ । खोई त जाने होइन ?’

अनि पो झसंग भएँ– हाइकिङ जाने भनेर हिजो आफैँले त्यत्रो गफ हानेको । बिर्सेंछु पो । बिर्सेंछु त भन्न भएन । भनेँ, ‘दाइ म त घरमै छु । आइपुग्न भ्याउँछु त ?’ उत्तर आयो– ‘ल ल आऊ । हामी पर्खिन्छौँ ।’
अनि हतारहतार मुख धोएर लागेँ चतरातिर ।

करिब २ घन्टामा बराहक्षेत्र नगरपालिका–१ को भण्डारीटार भन्ने ठाउँमा पुगेँ । म पुग्दा राप्रपा कोसी प्रदेशका प्रवक्ता विजयकुमार राउत, पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राईलगायत जम्मा भइसक्नुभएको रहेछ । उहाँहरू ‘चतरा हाइकिङ’ जान मलगायत आउन बाँकीलाई पर्खिरहनुभएको थियो ।

म पुग्नासाथ मलाई खाजा खान भनियो । खाजा खाँदै एकछिन गफ चले । गफ… उही त हो– दसैँ कस्तो बित्यो, कामधन्दा कस्तो चल्दैछ…
अघिल्लो दिनमात्रै हाइकिङको योजना बनेकाले कसैले त्यही बिहान मात्र थाहा पाएका थिए । थाहा पाउनेहरू ‘म पनि आउँदै छु’ भनेर आउने क्रम जारी थियो । करिब साढे ८ जति बजेपछि सुरु भयो हाम्रो हाइकिङ । लाग्यौँ उकालो । उकालोको सहाराका लागि हामीले एक–एक वटा लौरो हातमा लियौँ ।

हाइकिङको सुरुमा गाडीबाटो थियो । करिब २०० मिटर अघि बढेपछि अर्को साथीको फोन आयो– म पनि आउँदै छु । पर्खिनैप¥यो । नत्र भरे खानुसम्मको गाली जो खानुपथ्र्यो । उनलाई पर्खिने क्रममा हाम्रो टोलीमा रहेका बराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापाले सानो मन्तव्य दिन पनि भ्याए, आखिर राजनीतिक व्यक्ति जो परे । वडाध्यक्षले भाषण गरेपछि टोलीमै रहेका अग्रज युवराज भट्टराई पनि के कम ! उनले पनि एउटा कविता सुनाए । उनले पनि आफ्नो साहित्य प्रस्तुत गर्न पाए । तलबाट आउँदै गरेकी साथी पनि आइपुगिन् ।

त्यहाँबाट अलि अगाडि बढेपछि फेरि अर्को साथी हामीसँग जोडिए । अब हाम्रो टोली पूर्ण भयो । अलि माथि पुगेपछि दसैँका लागि लगाइएको लिंगे पिङ रहेछ । सधैँ दसैँतिहारमा गाउँमै पिङ हाल्ने मेरो गाउँमा यसपालि पिङ खेल्न पाएको थिइनँ । मौकाको फाइदा किन छोड्थेँ । पिङ पनि खेलेँ र साथीलाई फोटो र भिडियो पनि बनाउन लगाए । अरू पनि रहर हुनेहरूले त्यही गरे ।

केही माथि पुगेपछि हामी जंगलको बाटो तेर्सो लाग्यौँ । तेर्सो लागेसँगै हाम्रो हाइकिङको ‘एडभेन्चर’ सुरु भयो । बाटोमा अम्बाको बोट पनि रहेछ । बाटोमा भेटेको कटमिरो अम्बा, कसले छोडोस् । खायौँ हामीले । मानौँ– आफ्नै बारीमा फलेको हो । त्यो जंगलमा कसलाई पो सोध्नु । बोटबाटै टिपेर अम्बा खाँदा हाइकिङको मजा अझ बढ्यो ।

हामी तेर्सो हुँदै ओरालो लाग्दै थियौँ । त्यहाँ धरानका मेयर हर्क साम्पाङले पानी ल्याएको पाइप पनि देख्यौँ । भिरभिर हुँदै पाइप तानेर पानी ल्याइएको रहेछ । त्यो देख्दा लाग्यो– धरानले साँच्चिकै दुःखले पानी खाएको रहेछ ।

हामी तल खोलामा पुग्यौँ । त्यहाँ हामीले ढुंगामा ‘चतरा हाइकिङ’ लेखेर अगाडि उभिएर फोटो खिच्यौँ । त्यसपछि फेरि उकालो यात्रा । त्यो उकालो चढ्न निकै कठिन थियो । किनकि हाइकिङमा जाने कसैलाई पनि बाटो थाहा थिएन । हामीले जंगल अनि उकालो बाटो, जहाँ बाटोको नक्सासमेत थिएन, हिँडिरहेका थियौँ ।

बाटो आफैँ बनाउँदै हिँड्नुपर्ने । अगाडि हिँड्ने केही साथीहरूले बाटो बनाउने अनि त्यही बाटोमा अरू पछि–पछि जाँदै थियौँ । त्यो उकालो बाटो चढ्दा कैयौँ पटक लड्नबाट जोगिएँ । त्यतिबेला थाहा पाएँ– सुरुमै हामीलाई एक–एक वटा लौरो बोक्नु किन भनेको रहेछ भनेर ।

हामीले हँसीमजाकमा ‘बालेनको लौरो’ले धेरै काम गरेको चर्चा गर्‍यौँ। म करिब ५–६ चोटि भिरमा लड्न आँट्दा त्यही लौरोले बचाएको थियो । उकालो बाटो हिँड्दा निकै कठिन भए पनि निकै रमाइलो भयो । बाटोमा पाएको दुःख बिर्साउन कसैले जोक भने, कसैले कहानी सुनाए ।

हामी प्रतिघन्टा जम्मा डेढ किलोमिटर यात्रा तय गरिरहेका थियौँ । करिब ३ किलोमिटर हिँडेपछि बल्ल डाँडाको माथिलो भागमा पुग्यौँ । अलि तेर्सो बाटो हिँडेपछि हाम्रो खाना खाने ठाउँ आयो । त्यहाँ हामी पुग्दा लोकल कुखुराको मासु र भात पाकिरहेको रहेछ । कुखुराको मासुको यस्तो हरहर बास्ना आएको थियो– हातसात पछि धुम्ला, पहिले भात बजाइहालौँ जस्तो हुने गरी ।
भात पाकिसकेको र ढिँडो खान मन भए अब पकाउनुपर्ने भनेपछि धेरैजसो साथीहरू पर्खिन चाहेनन् । उनीहरूले मासुभात नै खाए । तर, मलगायत केही साथीचाहिँ ढिँडो नै खाउँ भन्ने निर्णय गरे पर्खिन थाल्यौँ । नवराज दाइले ढिँडो बनाउनु भयो । अनि हामी ६ जनाले ढिँडो र लोकल कुखुराको मासु खायौँ ।

मैले ढिँडो त यसअघि पनि खाएको थिएँ । तर, धेरै पहिले खाएकाले स्वाद बिर्सिसकेको रहेछु । त्यो ढिँडो मलाई यति मिठो लाग्यो कि, थपेरै खाएँ । हुन त मासु लभरलाई लोकल कुखुराको झोलसँग पाएपछि के नमिठो हुन्थ्यो । लोकल कुखुरा पनि सहरमा दाना खुवाएर पालेको लोकल हो र ! गाउँमै किरा फट्यांग्रा, घाँसपात र अग्र्यानिक दानापानी खाएको । ओहो ! फेरि जिब्रो रसायो…

हामी सबैले खाना खाइसकेर त्यहाँबाट निस्कियौँ । अनि अलि माथि डाँडामा गएर हामीले चतरा हाइकिङको महत्वबारे छलफल गर्‍यौँ। त्यस ठाउँको धार्मिक र पर्यटकीय महत्वका बारेमा पनि जान्ने अवसर मिल्यो । बराहक्षेत्रका कर्मचारीसमेत रहेका दुर्गा बस्नेतले त्यहाँको बारेमा अध्ययन गर्नुभएको रहेछ । त्यहाँ भीषण दाइले भिडियो बनाउनुभयो । करिब २ घन्टा जति त्यहाँ बिताएर हामी फेरि ओरालो लाग्यौँ ।
अनि त्यहाँबाट तल झरेपछि हामीले लिचीको बुढो रूख हेर्न पायौँ । त्यो रूखलाई हामीसँग भएका ५ जनाका हात जोड्दा हात हाल्दा मात्र अँगालो पुग्यो । ओरालो झर्ने क्रममा पिपलको पनि त्यस्ता खालका रूखहरू पनि देख्यौँ । करिब १ घन्टा ओरालो झरेपछि हामी हिन्दुपति दरबारको अवशेष भएको ठाउँतिर लाग्यौँ ।

पृथ्वीनारायण शाहले एकीकरण गर्नुभन्दा अगाडि हिन्दुपति राजाले राज गरेको दरबारको अवशेष रहेछ । त्यहाँ पुराना इटाले बनाइएका घरका अवशेष थिए । स्थानीय सरकारले त्यसलाई संरक्षण गर्न सकेमा धेरै पर्यटक आउन सक्ने र आम्दानी बढ्न सक्छ भनेर हामीले चर्चा पनि गर्‍यौँ।

त्यस दरबारभित्र भएका खजानाहरू गत चैतमा ३ हप्ता लगाएर खोजेर चोरर लगेको त्यहाँका स्थानीयले बताउँदै थिए । त्यो दरबारमा ठाउँ–ठाउँमा खनेको पनि देखिन्थ्यो । सायद त्यो सामग्री चोरेर लाँदा परेका खाल्डा हुन सक्छन् । धेरै वर्ष पुराना काँटी पनि त्यहाँ देखिए । पूरै क्षेत्रमा दरबार फैलिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

त्यहाँ एउटा शिलालेख पनि थियो । तर, त्यो ढुंगा ढलेर पुरिएकाले राम्ररी पढ्न भने पाइएन । त्यहाँ परेड खेल्ने चौरी पनि थियो । जसलाई बार्न प्रयोग गरिएका ढुंगाका केही बार बाँकी नै थिए । त्यो दरबारको अवशेष करिब २ घन्टा जति अवलोकन गरेपछि हामी ओरालो यात्रा लाग्यौँ ।

त्यो बाटो पनि सबैका लागि नयाँ नै थियो । फेरि हामीले जाँदा जस्तो दुःख गरेका थियौँ, आउँदा त्यही दुख गर्‍यौँ। कतिपय साथीहरू ओरालो झर्ने क्रममा त लड्नु पनि भयो । हामी लड्दै भए पनि ओरालो झर्दै गयौँ । झर्ने क्रममा हामी केहीबेर बाटो पत्ता लगाउन नसकेर झड्कियौँ पनि । तर, पछि भीषण दाइले सही बाटो पत्ता लगाउनुभयो । अनि हामी जुन ठाउँमा बिहान चिया खान भेला भएका थियौँ, त्यही ठाउँमा पुग्यौँ । हामी तल पुग्दा गलेर र खुट्टा दुखेर हैरान भएका थियौँ ।

म यसअघि पनि हाइिकिङ त गएको थिएँ । तर, त्यस्तो रोमाञ्चक भने कतै लागेन । बाटो कहाँ हो ? कसरी पुग्ने ? केही थाहा छैन । त्यसमाथि पनि खतरनाक बाटो हिँड्दा छुट्टै मजा आएको थियो । त्यसैले मैले चतरा हाइकिङलाई ‘एडभेन्चर’कै रूपमा व्याख्या गरेँ ।