भूकम्पमा परी मृत्यु हुनेमा महिलाको संख्या धेरै, आधा बालबालिका

भूकम्पमा परी मृत्यु हुनेमा महिलाको संख्या धेरै, आधा बालबालिका


जाजरकोट ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ ।

प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका छन् ।

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका छन् । जाजरकोटमा मृत्यु भएका १०५ मध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताए ।

रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए । उनले भने, “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकाले ज्यान गुमाएका छन् ।”

मृत्यु हुनेमा महिला धेरै

भूकम्पमा परी मृत्यु हुनेमा १०५ मध्ये ५०, ३३ जना महिला र १८ जना पुरुषको मृत्यु भएको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिए । रुकुम पश्चिममा १६ महिला र ८ जना पुरुषको मृत्यु भएको छ ।

बेला बेलामा हुने यस्ता विपद्मा महिला बालबालिका र ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।