पाटन अस्पतालमा सुई लगाउनेबित्तिकै २ बिरामीको मृत्यु, डाक्टरमाथि हातपात

पाटन अस्पतालमा सुई लगाउनेबित्तिकै २ बिरामीको मृत्यु, डाक्टरमाथि हातपात


काठमाडौं ।

पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ ।
अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि दिएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो ।

ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माका अनुसार उनीहरु दुवै एउटै वार्डमा भर्ना भएका थिए । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परिक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको छ ।

इक्जेन्सन दिएपछि उक्त घटना भएको हुनाले अस्पताल प्रशासनले औषधिलाई परीक्षणको लागि पठाइएको छ । ‘हामीले नियमित हजारौं बिरामीलाई चलाइरहेको औषधि हो । जुन हरेक अस्पतालमा एक नम्बरमा प्रयोग हुने औषधि हो,’ डा. शर्माले भने, ‘औषधिको गुणस्तरीयता हेछौं । अन्य बिरामीलाई उक्त औषधि प्रयोग नगर्ने निर्देशन पनि दिइसकेका छौं ।’

त्यसैगरी, मृत्युको कारण पत्ता लगाउनका लागि मृत्तकको पोस्टमार्टम गरिने भएको छ ।

गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित हुँदै हातपात र दुर्व्यवहारसमेत गरेका थिए ।

अहिले कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएको र हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा छोडेर आन्दोलनमा उत्रिएका छन् ।