भूकम्प पीडितका लागि आइएसएमटी कलेजले ५ लाख रुपैयाँ दिने

भूकम्प पीडितका लागि आइएसएमटी कलेजले ५ लाख रुपैयाँ दिने


काठमाडौं ।

गत शुक्रबार मध्यराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितका लागि आइएसएमटी कलेजले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

कलेज सञ्चालक समितिको बैठकले भूकम्प प्रभावितहरूको सहयोगार्थ ५ लाख रुपैयाँ सहायता उपलब्ध गराउने निर्णय गरेको कलेजका बिजनेस डेभलपमेन्ट हेड वासु वस्तीले जानकारी दिए ।

‘भूकम्पका कारण यी २ जिल्लामा ठुलो जनधनको क्षति भएकाले सानै भए पनि पीडितसमक्ष सहयोग पुगोस् र सबैमा सहयोगको भावना जागृत गराउन सकियोस् भन्ने उद्देश्यले आइएसएमटी कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराइने निर्णय गरिएको हो,’ वस्तीले विकास टाइम्ससँग भने ।

साथै कलेजले उक्त भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । भूकम्पबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को दुःखद् घडीमा खोज, उद्धार उपचार तथा राहतका लागि सरकार तथा सबै व्यक्ति तथा संस्थासमक्ष कलेजले आग्रह पनि गरेको छ ।

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेज काठमाडौं, चितवन, पोखरा, बुटबल र विराटनगरमा सञ्चालित छ ।