सरकारको तमासा : भूकम्प पीडितको बास हटाएर राष्ट्रपतिको सवारी !

सरकारको तमासा : भूकम्प पीडितको बास हटाएर राष्ट्रपतिको सवारी !


तस्बिर : कान्तिपुर टिभीकाे भिडियाेबाट ।

काठमाडौँ ।

मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगे । भूकम्प पीडितहरूको अवस्था बुझ्न र स्थलगत अवलोकनका लागि पौडेल प्रभावित क्षेत्रमै पुगेका थिए ।

जाजरकोट पुगेर उनले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने पनि बताए ।

तर, उनको जाजरकोट भ्रमणको तरिकामा प्रश्न उठ्न सुरु भएको छ । पीडितहरूको अवस्था बुझ्न भन्दै जाजरकोट पुगेका राष्ट्रपति चढेको हेलिकोप्टर भने तिनै पीडितहरूको बास मासेर अवतरण गराइएको थियो ।

जाजरकोटको थाप्ले चौरमा पीडितहरूका लागि बासस्थानका लागि टेन्टको व्यवस्था गरिएको थियो । तर, राष्ट्रपति आउने भएपछि ती सबै टेन्ट हटाएर चौरलाई राष्ट्रपतिको हेलिकोप्टर ल्यान्ड गर्ने थलो बनाइएको थियो ।

हेलिकाेप्टर अवतरण गर्ने क्रममा उडेकाे धुलाेले पीडितलाई थप आहत दिएकाे थियाे । चाैरकाे पूरै क्षेत्र धुलाेले पुरिएकाे थियाे, सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मी आँखा नदेखेर अर्काे पट्टि फर्किँदै थिए भने स्थानीय पनि आक्राेशित देखिन्थे ।

उनको त्यो असुहाउँदो सवारीलाई स्थानीयले नै विरोध गरेका छन् । संकटको समयमा राहत पुर्‍याउनुपर्ने अवस्थामा सुरक्षाकर्मीको लावालस्कर लगाएर रमिता देखाए जस्तै गरी पीडितका अघि जानुले सरकारको व्यवस्थापनमा पनि औँला उठेको छ । स्थानीय पनि अहिलेको अवस्थामा निरीक्षण र अनुगमनभन्दा पनि राहत र उपचार चाहिएको बताइरहेका छन् ।

राष्ट्रपति जानु र पीडितसँग संवाद गर्ने विषयलाई सबैले सराहनीय भने पनि उनको सवारीको तरिकाको भने आलोचना भएको छ ।

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण पनि स्थगित गरेका थिए । यो विषयमा राष्ट्रपतिको वाहवाही पनि भएको थियो । तर, पीडितको आँगनमा राजषी सवारीले गर्दा उनको वाहवाही एक दिन पनि टिकेन ।

हुन त उनको सवारीको विषयमा उनी आफैँले तामझमा गर्ने त होइन । तर, व्यवस्थापकीय पाटो हेर्ने सरकारकै कारण उनी फेरि विवादमा तानिएका छन् । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सामेल भएका थिए । यो संवेदनशील समयमा राष्ट्रपतिको त्यस्तो सवारी जरुरी थियो कि थिएन भन्ने भेउ रक्षामन्त्री खड्का आफैँले राख्न जरुरी थियो । तर, उनी आफैँले पनि राष्ट्रपतिको छविमा दाग लगाउन मद्दत गरे ।

नागरिकता विधेयक प्रमाणीकरण, आममाफीको विषयमा राष्ट्रपतिको छविलाई धुमिल बनाएको अहिलेको सरकारले भूकम्प पीडितका नाममा फेरि एक पटक राष्ट्रपतिलाई विवादमा पुर्‍याएको छ ।