बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपतिसँग भूकम्प पीडितकाे माग

बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपतिसँग भूकम्प पीडितकाे माग


जाजरकाेट ।

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । सोही क्रममा घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।

राष्ट्रपति पौडेलले जाजरकोटमा रहेको जिल्ला अस्पतालमा पुगेका थिए । उनले बिरामीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै बिरामीको गुनासोसमेत सुनेका थिए ।

त्यस्तै, राष्ट्रपति पौडेलले भत्किएका संरचनाको पुनः निर्माण गरिने, तर अहिले बाँचेकाहरूको अस्थायी बसोबासको कुरालाई ध्यान दिनुपर्नेमा जोड दिए ।

यसैगरी भेरी–३ स्थित थाप्लेमा भूकम्पबाट भत्किएको संरचना अवलोकन गदै पौडेलले पहिले आफू उक्त ठाउँमा आएर बसेको स्मरण गर्दै तत्काल यहाँ पुनःनिर्माणको कामलाई तीब्रता दिइने बताए ।

ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घरहरु तथा नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घरसमेत पौडेलले अवलोकन गरेका थिए ।

राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी थिए ।

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमणसमेत स्थगित गरेका थिए ।