काठमाडौँ महानगरले थाल्यो ३२ वटै वडामा राजस्व अनुगमन

काठमाडौँ महानगरले थाल्यो ३२ वटै वडामा राजस्व अनुगमन


काठमाडौं ।

काठमाडौँ महानगरले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ।
कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण संकलन गर्न स्थलगत अनुगमन थालिइएको हो।

कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाउनुपर्ने दायित्व भएका करदातामध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा जानकारी दिन, कर नियमित तिर्नका लागि प्रोत्साहन गर्न स्थलगत अनुगमन सुरु गरिएको जानकारी दिए।

प्रत्येक वडाले वडा सदस्यको नेतृत्वमा तीनसदस्यीय अनुगमन टोली गठन गरेको छ। टोलीमा कर्मचारी एकजना र स्थानीयमध्ये एकजना सदस्य रहने व्यवस्था छ। टोलीले सचेतनाका साथै कर तिर्नका लागि वडामा आउन वा अनलाइनबाट तिर्न मौखिक अनुरोध गर्नेछ।​

मौखिक अनुरोध अटेर गर्नेलाई वडा सचिवमार्फत पत्राचार हुनेछ। स्थलगत अवस्थाको विवरण संकलन गर्नेछ। संकलित विवरणअनुसार तथ्यांक तयार पारी राजस्व विभागमा पेश गर्ने बताइएको छ।

उनले भने, ‘साततले घरले सात हजार बहाल सम्झौता देखाएका छन्। जब कि हरेक भूमिगत तला र जमिन तला व्यावसायिक प्रयोजनमा देखिन्छन्। त्यसमाथिका तला बहालमा लगाइएको छ। एउटै तलामा सातभन्दा धेरै कोठा छन्। हरेक कोठाको सात हजारभन्दा धेरै बहाल उठाउने गरिएको छ। यसरी करदाताले झूटो विवरण दिएपछि स्थलगत अनुगमन थालिएको हो।’

विगतका वर्षभन्दा चालू आवमा क्रमिक रूपमा करदाताको संख्या बढे पनि अपेक्षाकृत सबै करदाता कानुनी दायरामा नआएको कामपाको भनाइ छ। कामपाले चालू आवको पहिलो दुई महिनाको अवधिमा रु। एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको जनाएको छ।

चालू आवका लागि कामपाले रु। १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको छ। चालू आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु। ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए।​ त्यसैगरी सम्पत्ति करबाट रु। २५ करोड असुल भएको छ।

गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै ६४८ करदाता बढेका छन्। अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन्।