‘माफियाले चुरे र नदी सभ्यता ध्वस्त बनाए’

‘माफियाले चुरे र नदी सभ्यता ध्वस्त बनाए’

विकास टाइम्स
198
Shares

नदीको अधिकारलाई माफियाहरूले उल्लंघन गरेको भन्दै चुरे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

नदी तथा चुरे संरक्षण अभियन्ताहरूसँग छलफल गर्दै अवैध उत्खनन मुख्य समस्याका रूपमा रहेको विज्ञहरूले बताए ।

मधेसमा नदी उत्खनन गर्ने संगठित गिरोहका कारण अभियन्ताहरूले ज्यानसमेत गुमाउनुपरेको बताउँदै भावी सन्ततिको रक्षाका लागि यस्ता विकृतिविरुद्ध सबै एकजुट हुनुपर्ने उनीहरूको सुझाव छ ।

नेपाल पानी सदुपयोग फाउन्डेसनले महोत्तरीको बर्दिबासमा आयोजना गरेको उक्त कार्यक्रममा डा. विष्णुमाया केसीले माफियाहरूकै कारण मधेसमा पानीको चरम समस्या सिर्जना हुँदै गएको धारणा राखिन् ।

पानीको भण्डार रहेको चुरेमा नै यसका स्रोतहरू दिनानुदिन सुक्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरोकारवाला निकाय गम्भीर नबने थप विकराल समस्या सिर्जना हुन सक्नेतर्फ पनि विज्ञहरूले सचेत गराएका छन् ।

विज्ञहरूले महोत्तरीको रातु नदीको विषयमा समेत चासो देखाएका थिए । सिँचाइ र खानेपानीका लागि महत्वपूर्ण मानिएको रातु नदीमा पानी सुकेसँगै समस्या सिर्जना हुँदै गएको उनीहरूले बताए ।

लामो समयदेखि चुरे तथा जलाधार संरक्षण क्षेत्रमा काम गर्दै आएका इन्जिनियर गणेश साहले नदी सभ्यताको क्षेत्रमा नया ढंगले काम गर्नुपर्ने बताए ।

नदीका किनारमा बाँस हुर्काएर उद्यम र आयआर्जनसँग जोड्न सकिने बताउँदै नदी संरक्षणका लागि वृक्षरोपण महत्त्वपूर्ण भएको उनकाे भनाइ छ ।

नदी बच्दा प्राणीहरू पनि बच्ने र मानव जीवनसँग पानी महत्वपूर्ण रहेको उल्लेख गर्दै विज्ञहरूले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने धारणा राखे ।

कार्यक्रममा डा. चिरञ्जीवी भट्टराई, डा. जनार्दन लामिछाने, डा. ध्रुवप्रसाद गौचन, डा. सुबोध उपाध्याय, डा. विष्णुमाया केसीलगायत चुरे विज्ञकाे उपस्थिति थियो ।