यमपञ्चककाे पहिलो दिन आज काग तिहार

यमपञ्चककाे पहिलो दिन आज काग तिहार


काठमाडौँ।

हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको आज पहिलो दिन काग तिहार हो ।

यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो ५ दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने कागतिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।

काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइन्छ । यो कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म ५ दिन मनाइने तिहार पर्वको पहिलो दिन हो । यस दिन कागको पूजा गरिन्छ ।

कागले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ भने कागले सबैलाई समान दृष्टिले हेर्छ भने विश्वास राखिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको जनविश्वास रहीआएको छ । कागलाई अत्यन्त चलाख र सर्वभक्षी प्राणीका रुपमा मानिन्छ ।

काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।

कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले आफ्नो घरआँगनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर शुभ बोल भनेर भनिन्छ ।

धर्मशास्त्रमा उल्लेख भए अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् र त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने तथा लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ । यस्तै, काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

काग तिहारको दिन घरबाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागले वर्षभरि आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ ।