मुगु सामूहिक हत्या प्रकरण : श्रीदेवी र ठूला छोरीहरुको हत्या पछि रुन थालेको भन्दै बालकको हत्या !

मुगु सामूहिक हत्या प्रकरण : श्रीदेवी र ठूला छोरीहरुको हत्या पछि रुन थालेको भन्दै बालकको हत्या !


काठमाडौँ ।

मुगुमा भएको सामूहिक हत्या प्रकरणका एक आरोपितले बच्चा रुन थालेकाले एक वर्षका बालकको समेत हत्या गर्नुपरेको बयान दिएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका आरोपित गोपाल बोहोराले एक वर्षको सानो बच्चा रुन थालेकाले गाउँलेले थाहा पाउने डरले बालकको समेत हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।

प्रहरीको प्रारम्भिक सोधपुछमा आरोपित गोपालले हत्या लुटपाटको उद्धेश्यबाट भएको र हत्या गर्ने क्रममा सानो बच्चा पनि रोएको कारण गाउँलेले थाहा पाउने डरले बच्चाको समेत हत्या गरेको बयान दिएका हुन् ।

हत्या गर्ने उद्धेश्यले नै मृतकको घरमा पुगेका थिए आरोपितहरु

प्रहरी नियन्त्रणमा रहेका गोपाल बोहोराले आफूहरु योजनाका साथ हत्या र लुटपाट गर्ने गरी मृतकको घरमा पुगेको बयान दिएका छन् । प्रहरी श्रोतका अनुसार गोपाल र उनका साथी काले भन्ने गोर्खराज शाही ठकुरीले पहिले नै योजना बनाएर श्रीदेवीको हत्या गरी लुटपाट गरेका हुन् ।

पूर्व योजनाअनुसार गोपाल र गोर्खराज कात्तिक ८ गते राती साँझ साढे ८ बजे मृतकको घरमा पुगेका थिए । दिदी, दिदी भनी गोपालले मृतकलाई बोलाएपछि मृतकले ढोका खोलेकी थिइन् । त्यसपछि मृतकको खाना खायौ कि छैन भनेर सोधेको समेत खुलेको छ ।

त्यसपछि केही समय कुराकानी गरेपछि आरोपितहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । आरोपितहरु घरमा पुग्दा ठूला भएका छोरीहरुले देखेका कारण पोल खुल्ने डरले उनीहरुको समेत हत्या गरेको र सबैको हत्यापछि सानो बच्चा रोएकाले उक्त बालकको पनि हत्या गरेको बयान दिएका छन् ।

हत्यापछि श्रीदेवीले कानमा लगाएको दुईवटा रिङ र तिलहरी लुटेर आरोपितहरु फरार भएका थिए । आरोपित गोपाल बोहोरा उक्त रात आफ्नै घरमा सुतेको भएपनि अर्का आरोपित गोर्खाराज शाही ठकुरी भने सोही रात हिँड्दै जुम्ला पुगेको र जुम्लाबाट बस चढेर सुर्खेत पुगेका थिए । सुर्खेतमा एकरात बसी त्यहाँबाट नेपालगञ्ज आएर लुटिएको सुन आरोपितले बेचेका थिए ।

मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा आमासहित उनका ३ सन्तानको हत्या भएको थियो। मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, ८ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहरको शव घरभित्रै फेला परेको थियो। धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो।

मृतक श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते नै दशैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन्। माइतीबाट टीका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन्। सोही राति सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ।

मृतकका श्रीमान् दिपक बोहोरा वैदेशिक रोजगारीमा कतारमा थिए। घटनापछि उनी घर आइसकेका छन्। मृतक सबैको अन्तिम संस्कार भइसकेको छ।