चितुवाले रित्यायो गोठ, एकै पटक खायो ७७ वटा च्याङ्ग्रा

चितुवाले रित्यायो गोठ, एकै पटक खायो ७७ वटा च्याङ्ग्रा


मुस्ताङ ।

उत्तरी मुस्ताङको ढाकमारमा हिउँ चितुवाको आक्रमणबाट झन्डै सय च्याङ्ग्रा मरेका छन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका २ मा पर्ने उक्त गाउँमा किसानको गोठमै छिरेर च्याङ्ग्रालाई आक्रमण गरेको हो ।

‘७७ वटा गोठमै मरेका छन् । ३ वटा घाइते छन् । बाँच्ने अवस्था छैन,’ स्थानीय छिरिङ गुरुङले भने, ४ वटा चितुवा एकै पटक छिरेर आक्रमण गरेको उनको भनाई छ ।

स्थानीय मिङ्मर गुरुङको ३० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । तरबार सहितको खोरमा छिरेर आक्रमण गरेको मुस्ताङ प्रहरी प्रमुख भोज पाण्डेले बताए ।

घटनास्थलमा जनप्रतिनिधि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रतिनिधि जाँदै छन् । हिउँचितुवाको आक्रमणले क्षति भएको यो सबैभन्दा ठुलो सङ्ख्या हो ।