थुनामा रहेका बेला मृत्यु भएका कृष्णको शव आफन्तले बुझे

थुनामा रहेका बेला मृत्यु भएका कृष्णको शव आफन्तले बुझे


धनगढी ।

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका बेला मृत्यु भएका युवकको शव आफन्तले बुझेका छन् ।

हत्या अभियोगमा पक्राउ परेर थुनामै रहेकाबेला मृत्यु भएका धनगढी उपमहानगरपालिका( १६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको शव शुक्रबार आफन्तले बुझेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले सेट्टीको शव परीक्षणपछि आफन्तले बुझेको जानकारी दिए ।

उनकाअनुसार मृत्युको घटनाबारे अनुसन्धान गर्न मृतकका परिवारले ज्यान सम्बन्धी मुद्दासमेत दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा बिहीबार बिहान बयान लिने क्रममा ढलेर बेहोस भएका सेट्टीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

सेट्टीलाई कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका- १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो ।

बेहडाबाबामा पसल सञ्चालन गर्दै आएका सेट्टीले मदिरा चोरी गरेको निहुँमा थापामाथि कुटपिट गरेका थिए ।