भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६० हजार घर भत्किए

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६० हजार घर भत्किए


काठमाडौं ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६० हजार घर भत्किएका छन् ।

कात्तिक १७ गते राति रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट जाजरकोटका २४ हजार ७०७ घरमा आंशिक तथा ९ हजार ७९४ घरमा पूर्ण क्षति पुगेको हो ।

त्यस्तै रुकुम पश्चिममा ९ हजार ९६१ घरमा आंशिक तथा १६ हजार ५७० घरमा पूर्ण क्षति पुगेको छ । भूकम्पबाट रुकुम पूर्वमा १५७, सल्यानमा ६६३, रोल्पामा ११२, नवलपरासी पूर्वमा १, दैलेखमा २, दाङमा ७, बैतडीमा १, जुम्लामा ५, कालिकोटमा १ र प्युठानमा ३१ घरमा क्षति पुगेको छ ।

भूकम्पले १२ जिल्लामा ६२ हजार १२ वटा निजी आवासमा आंशिक तथा पूर्ण क्षति पुर्‍याएको छ । गृह मन्त्रालयका अनुसार २६ हजार ५५७ निजी आवास बस्न नमिल्ने गरी भत्किएका छन् भने ३५ हजार ४५५ वटा घरमा आंशिक क्षति पुगेको हो ।

भूकम्पबाट ५० सरकारी संरचना क्षतिग्रस्त भएका छन् । भूकम्पमा परी जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५३ गरी १५४ जनाको मृत्यु भएको र ३६६ जना घाइते भएको गृह मन्त्रालयको विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।

भूकम्पप्रभावितको उद्धार तथा राहत वितरण कार्यमा हाल नेपाल प्रहरीका ८४३, नेपाली सेनाका ५०२ र सशस्त्र प्रहरीका २८६ जनशक्ति परिचालित छन् । जिल्लाहरुबाट विस्तृत विवरण आउने क्रम जारी रहेको र भौतिक क्षतिको विवरण संकलन भइरहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।