‘वैदिक ज्याेतिषीहरूले ज्याेतिषशास्त्रकै बेइज्जत गरे’

‘वैदिक ज्याेतिषीहरूले ज्याेतिषशास्त्रकै बेइज्जत गरे’

किन फरक पर्छ ज्याेतिषीहरूकाे भविष्यवाणी ?


ज्योतिषहरूले किन गलत भविष्यवाणी गर्छन् ? के फेसबुकमा लाइभ बसेर गर्ने भविष्यवाणीमा सत्यता छ ? पछिल्लो समय राजतन्त्र र गणतन्त्रका नाममा भएका भविष्यवाणी के हुन् ?

गत आइतबार बिहान महोत्तरीको एक होटलमा ज्योतिषीहरूको राष्ट्रिय बृहत् भेलाका बीच उनीहरू यस्ता अनेकौँ प्रश्नहरूले घेरिए ।

यही क्रममा लक्ष्मण भण्डारी जुरुक्क उठेर भने- `यी सबै प्रचारप्रसारका लागि गरिएका फेक कुरा हुन् ।´

झापाबाट कार्यक्रममा सहभागी हुन आएका अर्का ज्योतिषी अर्जुन उप्रेतीले ज्योतिषीको विषयमा सामाजिक सञ्जालमा सरकारले नियमन गर्न नसक्दा विकृति बढ्दै गएको धारणा राखे ।

ज्योतिषशास्त्र विज्ञानसम्मत भएको र वैदिक ज्योतिषका नाममा विकृतिहरू वृद्धि हुँदै गएको उनीहरूकाे तर्क थियाे ।

उनीहरूले यी तर्क गरेपछि कुनचाहिँ ज्योतिषको फलादेश शतप्रतिशत हो भन्ने विषयमा अथितिहरूले यसभित्रको भिन्नता बुझ्न खोजे ।

त्यसपछि उक्त छलफलमा ज्योतिषीभित्रको कृष्णमूर्ति पद्धतिका विषयमा लामो छलफल भयो ।

वैदिक ज्योतिषीहरू राशिमा आधारित हुने र कृष्णमूर्ति ज्योतिषीहरू नक्षत्रमा आधारित हुने भएकाले कृष्णमूर्ति पद्धति सबैभन्दा प्रभावकारी भएको तर्क उनीहरूले पेस गरे ।

अथितिहरूले उनीहरूका कुरा अझै पत्याउन सकेनन् । त्यसपछि कृष्णमूर्ति पद्धतिको वैज्ञानिक आधार खोज्न थालियो ।

झापाबाट आएका बुद्धि भट्टराईले आफू विज्ञानको विद्यार्थी भएको र कलेजमा केमिस्ट्री पढाउने गरेको परिचय दिँदै ज्योतिषमा कृष्णमूर्ति पद्धति विज्ञानसम्मत भएको दाबी गरे । छिटो, छरितो र सरलसँगै ९ ग्रहमा आधारित हुँदा यसभित्र थुप्रै वैज्ञानिक आधार भएको उनकाे तर्क थियाे ।

भट्टराईको कुरा सकिन नपाउँदै कृष्णमूर्ति ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष देवीप्रसाद सुवेदीले उनका तर्कहरूमा ऐक्यबद्धता जनाउँदै प्रमाणित भएका हरेक तथ्यहरू वैज्ञानिक भएको वताए ।

`त्यसैले यो कृष्णमूर्ति पद्धति पनि तथ्यमा आधारित भएकाले वैज्ञानिक छ,´ उनले भने ।

कृष्णमूर्ति दक्षिण भारतका प्रख्यात भविष्यवेत्ता हुन् । राशिमा आधारित वैदिक ज्योतिषभन्दा नक्षत्रमा आधारित ज्योतिष प्रभावकारी र विश्वसनीय भएको उनकाे निष्कर्ष थियाे ।

भारतमा ज्योतिषीहरूले अहिले कृष्णमूर्ति प्रद्धति नै अवलम्बन गर्दै आएका छन् । नेपालका प्रसिद्ध ज्योतिषी लक्ष्मण भण्डारीले कृष्णमूर्ति अर्थात् नक्षत्रमा आधारित ज्योतिषीय विद्याको गहन खोजी गरेका थिए ।

खोजीका क्रममा अत्यन्त प्रभावकारी भएको निष्कर्षमा पुगेपछि उने नेपालमा पनि यसकाे सुरुआत गर्न अभियान नै चलाए ।

सामाजिक सञ्जालका माध्यमबाट र प्रत्यक्ष भेटेर रुचि भएका व्यक्तिहरूलाई यो विद्या सिकाउनतिर भण्डारी लागे । यही क्रममा दीक्षित भएका ज्योतिषीहरूलाई समेटेर कृष्णमूर्ति ज्योतिष परिषद्को जन्म भएको हो । यसकाे अध्यक्ष स्वयं भण्डारी छन् ।

कृष्णमूर्ति प्रक्रियाअन्तर्गत २०० भन्दा बढी ज्योतिषीलाई पढाइसकिएको बताउँदै भण्डारीले ज्योतिषभित्रका विकृतिहरूलाई चिर्दै विश्वसनीयता कायम गर्न यो विधि नै उत्तम भएको बताए ।

कृष्णमूर्ति ज्योतिषी मात्र नभएर पूर्वीय विज्ञान नै भएको कतिपय ज्योतिषीहरूको तर्क छ । ग्रहका कारण प्रतिफल योग भएकाहरूले जिम्मेवारीभन्दा बाहिर गएर सेवा गर्नुपर्ने बताउँछन् । जस्तै बाबु-आमाको पालनपोषण जिम्मेवारी भएको हुँदा यसलाई सेवा भन्न नमिल्ने तर अनाथ, असहायहरूलाई गर्ने सहयोग भने सेवा भएको ज्योतिषीहरू बताउँछन् । यस्ता कर्म गरे ग्रहअनुसार रहने दशासमेत न्यूनीकरण हुने उनीहरूको भनाइ छ ।

वैदिक अध्ययन गरेर ज्योतिषी बन्न नसक्ने बताउँदै नक्षत्रको अध्ययन अनिवार्य भएको कृष्णमूर्ति ज्योतिष परिषद्को ठहर छ ।

राजतन्त्र र गणतन्त्रका विषयमा फेसबुकमा देखिएका भविष्यवाणी फेक भएको बताउँदै ज्योतिष पेसालाई नै कतिपय गैरज्योतिषीहरूले बदनाम गरेकोप्रति उनीहरूले चिन्ता व्यक्त गरे ।

ज्योतिषशास्त्रको विषयमा युरोपियनहरूले नेपालको नै प्राचीन, वैदिक प्रणालीलाई नयाँ ढंगले अनुसन्धान गरेर निष्कर्षमा पुगेको बताउँदै नेपालका ज्योतिषशास्त्रीहरू अझै पुरानो ढाँचामा नै रहेको कृष्णमूर्ति ज्योतिष परिषद्मा आबद्ध ज्योतिषहरूको बुझाइ छ ।