ढोरपाटन ।
पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । १ दशक अघिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् ।
गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । डोजर चालक र सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इन्जिनियरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छन् ।
गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडिदिएको छ । बागलुङका थुप्रै गाउँ पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्नासाथ उनीहरू घर छोडेर टाढा जानुपर्ने अवस्था छ ।
ग्रामीण सडकले बस्ती त जोखिममा पार्याे नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, भन्ञ्याङ र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर, ती सम्पदा हिजोआज देख्न पाइँदैन ।
विकासका नाममा भएको ‘डोजरे विकास’ले सबै सम्पदा नष्ट गरिदिएको छ । भरिया, स्थानीयबासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व नै समाप्त भएको छ । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोट्याएकाे छ । तर, मौलिक सम्पदाको पहिचान भने मेटाइदियो ।
बागलुङको सबैभन्दा दुर्गम मानिने तमानखोला, ढोरपाटन र निसीखोलाबाट जिल्ला सदरमुकाम आउँदा बाटोका दर्जनौँ स्थानमा वरपिपलका चौतारा, ढुंगेधारा र धर्मशाला भेटिन्थे । सडक निर्माण क्रममा ती सबै पुरिए ।
गाउँ–गाउँबाट एकै दिनमा सदरमुकाम आउन नसकिने र अहिलेको जस्तो ठाउँ–ठाउँमा बास बस्ने होटल नहुँदा आफूहरू धर्मशालामा बास बस्ने गरेको ढोरपाटनका ८७ वर्षीय मकरबहादुर पुनले बताए ।
पहिले हप्ता दिन हिँडेर बागलुङ बजार आइपुग्ने जनाउँदै अहिले ४ घन्टामै आउन सकिने भएको उनकाे भनाइ छ । गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै आउनुपरेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेको उनकाे भनाइ छ ।
गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्नतर्फ कसैको ध्यान नगएको उनकाे गुनासो छ ।
मौलिक सम्पदा पहिचान भएको भन्दै पछिल्लो समय त्यो पहिचान संकटमा पर्दै गएको पुनको भनाइ छ ।
‘गाउँमा सडक आयो धेरै राम्रो भयो, हामीले धेरै दुःख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ । तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन । हाम्रा पालामा वरपिपल रोप्ने, चौपारी बनाउने, धर्मशाला, पाटी पौवा बनाउने चलन थियो । त्यो चलन अहिले छैन,’ उनले भने,‘नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेनन्, अहिले कहीँकतै भेटिदैनन् । उतिबेला हामीले बनाएका चौपारी, बास बस्ने पौवा, टाढा जानुपर्दा अहिलेको जस्तो गाडी हुँदैनथ्ये, हिँडरै पुग्नुपर्थ्याे, बास बस्नका लागि होटल हुँदैनथे । त्यही पाटी पौवामा बस्नुपर्थ्याे, अहिले त होटल बने, विकास भए पनि मौलिक सम्पदाको संरक्षण गर्नुपर्थ्याे ।’
स्थानीय वीरबहादुर बुढा मगरले बाउबाजेले वरपिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखेको र आफूहरूले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको बताए ।
गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोच नै नभएको उनकाे भनाइ छ । ३ वर्ष अघिसम्म आफ्नो गाउँको विभिन्न ठाउँमा ११ वटा चौपारी र ४ वटा सार्वजनिक ढुंगेधारा रहेकामा अहिले सबै सडकले पुरिदिएको बताए ।
सडक निर्माण गर्दा आफूले संरक्षण गर्न बने पनि कसैले नसुनेको बुढा मगरले गुनासो गरे । उनी भन्छन्,‘अहिलेका पुस्तालाई विकास चाहिएको छ । घर–घरमा सडक चाहियो, धारा चाहियो, सबैथोक चाहियो, तर सार्वजनिक ठाउँमा भएको सबै विनाश गर्ने परिपाटी भयो । वरपिपल लगाउनु त राम्रो कुरा हो नि ! पाटी पौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्मकर्म मान्न छोडे, विकासका नाममा सबै विनाश गर्न थाले, हामीहरूले बटुवाका लागि पानी खान कुवा संरक्षण गर्याैँ, ढुंगेधारा बनायौँ, अहिले त सबै भत्काइदिए ।’
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पूर्वाधार निर्माण गर्दा मौलिक सम्पदालाई संरक्षण हुने गरी काम गरिरहेको बताए । अहिले पनि तमान खोलाका ठाउँ–ठाउँमा वर्षौँ पुराना मौलिक सम्पदा रहेको भन्दै गाउँपालिकाले पनि तिनीहरूको संरक्षणमा जोड दिएको अध्यक्ष बुढा मगर बताउँछन् ।
आधुनिकतालाई अँगाल्नुका साथै मौलिक सम्पदाको प्रवर्द्धन र संरक्षण आवश्यक रहेको उनकाे भनाइ छ । गाउँपालिकाले पुराना मौलिक सम्पदाको पुनःनिर्माणमा समेत ध्यान दिएको बुढा मगरले बताए ।
प्रतिक्रिया