हमास र इजरेलबीच युद्ध विराम गर्ने सहमति

हमास र इजरेलबीच युद्ध विराम गर्ने सहमति


काठमाडौं ।

हमास र इजरेलबीच केही बन्धकहरू छोड्ने र संघर्ष विराम गर्ने विषयमा सहमति भएको छ।

गाजामा बन्धक बनाएर राखिएका ५० जनालाई मुक्त गराउन इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको एउटा सम्झौतालाई पारित गरेको छ।

इजरेली प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित एउटा विज्ञप्तिका अनुसार चार दिनका लागि लडाइँ रोकिएको बेला बन्धकहरूलाई मुक्त गरिने छ।

उक्त सम्झौताअनुसार थप १० बन्धकलाई मुक्त गरिए त्यस्तो विराम थप एक दिनले लम्बिने छ।

संयुक्त राज्य अमेरिका, कतार र इजिप्टको सहयोगमा दुई पक्षबीच सहमति भएको हो।

उक्त सहमतिबारे छलफल गर्न इजरेली मन्त्रिपरिषद्को बैठक मङ्गलवार साँझ सुरु भएको थियो। त्यसलाई अनुमोदन गर्ने निर्णय गर्दा बुधवार बिहान भइसकेको थियो।

मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले बन्धकहरूको मुक्तिका लागि कुनै सहमति भयो भने पनि हमाससँगको युद्ध जारी रहने टिप्पणी गरेका थिए।

हमास लडाकु समूहले अक्टोबर ७ मा इजरेलमा अप्रत्याशित आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा इजरेलमा केही विदेशी नागरिकसहित १२०० जनाभन्दाको मृत्यु भएको थियो। मारिनेहरूमा १० जना नेपाली नागरिक पनि थिए।

लडाकुहरूले इजरेलबाट २०० जनाभन्दा बढीलाई बन्धक बनाएर गाजा स्ट्रिपतिर लगेका थिए। त्यसरी बन्धक बनाइएकामा नेपाली नागरिक विपिन जोशी पनि भएको ठानिएको छ।

केही दिनअघि इजरेली सेनाले अक्टोबर ७ मा खिचिएको एउटा भिडिओ सार्वजनिक गर्दै त्यसमा नेपाली बन्धक देखिएको जनाएको थियो।

अक्टोबर ७ को घटनापछि इजरेलले ुगाजाबाट हमासलाई निमिट्यान्न पार्ने उद्घोष गर्दैु आक्रमण थालेको थियो।

गाजामा विगत डेढ महिनादेखि इजरेलको सैन्य कारबाही जारी छ। उक्त कारबाहीका कारण हजारौँ मानिसको मृत्यु भएको भने लाखौँ मानिस विस्थापित भएका छन्।

हमासको नेतृत्वमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली सैन्य कारबाहीमा १४ हजार जनाभन्दा बढी मानिसको ज्यान गएको छ। तीमध्ये ५,००० जनाभन्दा बढी बालबालिका छन्। बिबिसी