भारतबाट १५ वटा मुर्रा राँगा आज नेपाल ल्याइँदै

भारतबाट १५ वटा मुर्रा राँगा आज नेपाल ल्याइँदै


काठमाडौं ।

भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल ल्याइँदैछ ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो ।

जसअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।

नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारीअनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा नेपालगञ्ज नाका भएर बुधबार नेपाल भित्रिने पशुसेवा विभागले जनाएको छ ।

राँगा लिनका लागि पशुसेवा विभाग, पशु क्वारेन्टाइन र केन्द्रीय पशु प्रयोगशालाका अधिकारीहरु नेपालगञ्ज भन्सार कार्यालय पुगेका छन् ।

बुधबार नेपाल भित्रिने राँगाहरु ३ वटा नेपालगञ्ज, ५ वटा लाहान र ७ वटा पोखरामा रहेको ब्रिडिङ केन्द्रमा लगिने विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए ।