एउटै गाँउबाट २ करोडको आलु र दुध बिक्री, २ किसानलाई सम्मान

एउटै गाँउबाट २ करोडको आलु र दुध बिक्री, २ किसानलाई सम्मान


दोलखा ।

दोलखाको वैतेश्वर गाउँपालिका–८ यवोका ९३ घरधुरी किसानले यस वर्ष आलु बिक्रीबाट एक करोडभन्दा बढी आम्दानी गरेका छन् ।

यवोबाट मात्रै यस वर्ष एक करोड ६८ लाखको आलु बिक्री भएको जनप्रेमी कृषि सहकारी संस्थाले जनाएको छ ।

प्रोत्साहनका लागि संस्थाले उत्कृष्ट आलु किसानलाई सम्मान गरेको छ । सहकारीले आलु खेती गर्ने किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन थालेपछि आलु खेती विस्तार हुँदै गएको हो ।

यवोका ९३ जना किसानले यस वर्ष तीन लाख ५२ हजार ३० केजी आलु काठमाडौँ निर्यात गर्दै एक करोड ६८ लाख आम्दानी गरेका हुन् ।

त्यस्तै आलुसँगै दूधमा पनि यवो गाउँ आत्मनिर्भर बन्दै गएको छ । सहकारीको मासिक रिपोर्ट अनुसार ४० लाख ३२ हजार रुपैयाँ दूधबाट आम्दानी गर्न सफल भएका छन् । यस गाउँका किसानले सहकारीको सहयोग पाएपछि कृषिलाई आम्दानीको मुख्य स्रोत बनाएको स्थानीय किसान बताउछन् ।

स्थानीय किसान शिवबहादुर कार्की यवोमा सबैभन्दा बढी आलु तथा दूध उत्पादन गरेर चौधौँ पटक सम्मानित भएका छन् । उनले यस वर्ष पनि ४ लाख ५० हजारको आलु उत्पादन गरेर सहकारीबाट चौधौँ पटक सम्मान थापेका हुन् ।

तीन लाख ३५ हजार बराबरको आलु उत्पादन गरेर सबैभन्दा बढी आलु फलाउने किसानको रूपमा सोही गाउँका राम चन्द्र कार्की पनि सम्मानित भएका छन् ।