आज उपत्यकामा विशेष सुरक्षा, ड्रोनबाट पनि निगरानी

आज उपत्यकामा विशेष सुरक्षा, ड्रोनबाट पनि निगरानी


काठमाडौं ।

मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुदैँछ।

बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ।

जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ ।

प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ ।

प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको छ ।

सुरक्षाकर्मीहरुलाई परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ ।

कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई) का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली रहनेछन् ।

आज बिहानैदेखि काठमाडौंका चोक(चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् ।

युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । त्यसअघि विभिन्न स्थानबाट जुलुस निस्किने छ । प्रसाईं समूहले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडिको चौर, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार र चाबहिल चोकबाट र्‍याली निकाल्ने जनाएको छ । यसैगरी युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट तिनकुने आउने छ ।

यी जुलुसहरुले रिङगरोड भित्रका विभिन्न रुट प्रयोग गर्ने भएकाले काठमाडौं उपत्यकामा विशेष निगरानी र सतर्कता अपनाइएको छ । जुलुसमा सादा पोशाकका सुरक्षाकर्मीहरु पनि रहनेछन् र उनीहरुले सूक्ष्म निगरानी गर्नेछन् । साथै सीसीटीभी फुटेजहरुबाट पनि जुलुसको निगरानीको व्यवस्था गरिएको छ । बल्खु र तिनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी छ ।