काठमाडौँ ।
करिब १ महिनादेखि चर्चामा रहँदै आएका व्यवसायी दुर्गा प्रसाईँ र मंसिर ७ को मिति आज काठमाडौँको सडकमा देखियो । धेरैजसोलाई मंसिर ७ मा के होला ? भन्ने लागेको थियो । साथै, एमालेको युवा संघले पनि आजकै दिन आफ्नो शक्ति प्रदर्शन गर्ने मिति तोकेकाले पनि धेरैलाई ७ गते के होला र कसो होला भन्ने उत्सुकता पनि थियो ।
व्यवस्था परिवर्तनका लागि भन्दै दुर्गा प्रसाईँका पक्षधरहरूको ताँती सडकमा राम्रै देखियो । उता, एमाले नेता महेश बस्नेतको नेतृत्वमा पनि धेरै युवाहरू सडकमा उत्रिए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा प्रसाईँ पक्षधर सडकमा उत्रिरहँदा सरकारको काम गर्ने तरिकाको विरुद्धमा युवा संघका कार्यकर्ताहरुले तिनकुनेको सडक ढाकेका थिए ।
एमालेको कार्यक्रम, र्याली, ‘शक्ति प्रदर्शन’ आज १ दिनका लागि मात्र थियो र सकिएको पनि छ । उता, प्रसाईँ पक्षधरहरूको प्रदर्शन भने अझै केही दिन चल्ने देखिएको छ ।
धेरैलाई प्रसाईँले २–४ सय मानिसलाई भेला गरेर र्याली निकाल्ने त होला नि ! भन्ने लागेको थियो । तर, आज बल्खुको सडकमा देखिएको भिडले त्यो सोचलाई नै परिवर्तन गरिदिएको छ ।
बल्खुमा देखिएको भिड आकलन गर्ने हो भने दसौँ हजारको संख्यामा उपस्थित भएका थिए भन्ने अनुमान लगाउन सकिन्छ । यो प्रदर्शनीलाई त प्रसाईँले ‘जनविद्रोह’कै संज्ञा दिएका छन् ।
प्रदर्शनीमा ‘राजा आऊ, देश बचाऊ’, ‘राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद’ जस्ता नारा ठुलै स्वरमा घन्किएको थियो । प्रसाईँकै अभिव्यक्तिलाई मान्ने हो भने ‘यो व्यवस्था परिवर्तनका लागि भएको जनविद्रोह’ हो ।
हुन पनि प्रदर्शनको माहोलले त्यसैतर्फ इंगित गरेको थियो । देशलाई निरंकुश शासन व्यवस्थाबाट लोकतान्त्रिक गणतन्त्र बनाउन धेरै जनताले रगत बगाएको इतिहास सेलाउन नपाउँदै फेरि त्यही व्यवस्थाको मागमा जनलहर देखिनुले राज्यसत्ता र त्यसको नेतृत्व गर्नेहरूप्रति अविश्वास गर्ने छुट दिएको छ ।
लोकतन्त्रको मर्मलाई अहिलेको राजनीतिक दल र तिनका नेतृत्वकर्ताहरूले राम्रोसँग नबुझिदिँदा अहिलेको परिस्थिति उत्पन्न भएको केही राजनीतिक विश्लेषकहरू बताउँछन् । हुन पनि अहिलेको व्यवस्था सबैलाई मन परेको थियो भने बल्खुमा मानिसको थुप्रो किन जम्मा हुन्थ्यो होला र ?
यसो भनिरहँदा व्यवस्था नै गलत भनिएको चाहिँ होइन । तर, यो व्यवस्थाको व्यवथापकीय पाटो सम्हालेकाहरूको लापरबाही, आफू केन्द्रित शासन प्रणाली र सत्ताको भोकोपनले गर्दा प्रसाईँ प्रवृत्तिलाई जनताले पनि केही मात्रामा भए पनि स्वीकार गरेको देखिन्छ ।
बोल्न पाउने अधिकार, आफ्नो विचार अभिव्यक्त गर्न पाउने अधिकार, सूचनाको अधिकार जस्ता लोकतन्त्रको आधारभूत स्तम्भलाई नै कमजोर बनाउने सरकारको कुचेष्टाका कारण पनि प्रसाईँ प्रवृत्ति दिनानुदिन हाबी हुँदै गएको छ ।
आफ्ना बारेमा गलत बोल्यो भन्दैमा सामाजिक सञ्जाल नै बन्द गर्ने, आफूलाई मन नपरेका व्यक्तिको बारेमा सूचना प्रसारण भयो भन्दैमा सञ्चारमाध्यमलाई नै स्पष्टीकरण सोध्ने, निषेधाज्ञा लगाएर जनताको भिडलाई निस्तेज बनाउने जस्ता विषय लोकतन्त्रको आधार स्तम्भ हुँदै होइन ।
तर, सरकारले यसैको सहारा लिएका कारण अहिलेको सरकार र त्यसको नेतृत्व वर्गलाई कुनै पनि हालतमा लोकतन्त्रमुखी मान्न सकिँदैन । उसो भए लोकतन्त्र फालेर फेरि राजतन्त्र नै ल्याउने हो त ? भन्ने प्रश्न पनि उठ्ला । त्यो बिल्कुलै हुन सक्दैन । यत्रो लामो संघर्ष र हजाराँैको बलिदानबाट आएको व्यवस्थालाई त्यत्तिकै खेर फाल्न कदापी सकिँदैन र हुँदैन पनि ।
यसको एउटा मात्र विकल्प छ । त्यो हो अहिलेका राजनीतिक दल र तिनका नेतृत्व वर्ग सच्चिनुपर्छ वा फेरिनै पर्छ । यसको अरू विकल्प छैन ।
प्रसाईँको आफ्नो व्यक्तिगत स्वार्थ होला । उनी आफ्नो स्वार्थका लागि सडकमा आए होलान् । अमूक पार्टीका अमूक नेतासँग उनको रिसइबी होला । त्यो फरक बहसको विषय बन्ला । तर, प्रसाईँले उठाएका कतिपय विषयले धेरैजसो नेपालीलाई छोएको छ । जनतामा वितृष्णको लहर छाउँदै गएको छ । यसको जिम्मा ‘हामीले लोकतन्त्र ल्याएका हौँ’ भन्ने हिमायतीहरूले लिनैपर्छ ।
दैनिक हजारौँको संख्यामा नागरिक बिदेसिनुपर्ने अवस्था, डामाडोल अर्थतन्त्र, बिचौलिया र भ्रष्टाचारको चरम अवस्था कसरी आयो ? यो आमनागरिकको प्रश्न हो । यसको जबाफ अहिलेका दलहरूले दिनैपर्छ । यसलाई तत्काल रोक्नुपर्छ । होइन भने भोलिका दिनमा अरू प्रसाईँ नजन्मेलान् भन्न सकिँदैन ।
कांग्रेसले ल्याएको नयाँ व्यवस्थालाई माओवादीको नेतृत्वले प्रतिस्थापन गरेको इतिहास हामी सबैलाई थाहै छ । अब फेरि यो व्यवस्थालाई प्रसाईँ प्रवृत्तिले नबदल्ला भन्न सकिँदैन । जनताको शक्ति सबैलाई थाहा नै छ । २०६२/६३ को जनआन्दोलनका सहिदहरूलाई जनताले राम्रोसँग चिन्न नपाउँदै नयाँ सहिद घोषणा गर्नुपर्ने अवस्था नआओस् ।
प्रतिक्रिया