सबै स्थानीय तह कार्यालय प्रमुखविहीन

सबै स्थानीय तह कार्यालय प्रमुखविहीन


कालिकोट ।

कालिकोट जिल्लाका सबै स्थानीय तह निमित्तकै भरमा सञ्चालन भइरहेका छन् ।

स्थानीय तह सञ्चालन भएदेखि तिलागुफा नगरपालिकाले एक पटक प्रमुख प्रशासकीय अधिकृत पाएको थियो भने अहिलेसम्म अरू स्थानीय तहमा निमित्तले सञ्चालन गर्दै आएका छन् ।

तिलागुफा नगरपालिकामा दरबन्दी अनुसार उपसचिव उद्धव रिजाल आए पनि जनप्रतिनिधिकै दबाबले छोटो समयपछि सरुवा भए । रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकामा अहिलेसम्म दरबन्दी अनुसारका कर्मचारी कार्यालय प्रमुख भएका छैनन् । लामो समय शिक्षा क्षेत्रका विद्यालय निरीक्षक जसिप्रसाद चौलागाईंले नगरपालिका सञ्चालन गरेका थिए ।

पछिल्लो समय नगरको नेतृत्व गर्नुभएका नगरप्रमुख कमलबहादुर शाहीले आफ्नो छिमेकी नातेदार पूर्व जिल्ला विकास समितिका छैटौँ तहका कर्मचारी प्रबलजङ्ग शाहीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गराएका छन् । उता रास्कोट नगरपालिकाले पशु सेवातर्फका सातौँ तहका प्राविधिक जवान सिंह बमलाई विगत पाँच वर्षदेखि कार्यालय प्रमुखको जिम्मेवारी भएर काम गरिरहेका छन् ।

सान्नीत्रिवेणी गाउँपालिकामा पनि पशु सेवा तर्फका पाँचौँ तहका प्राविधिक नेत्रबहादुर शाशी कार्यालय प्रमुख भएर काम गरिरहेका छन् । पलाँता, नरहरिनाथ, महाँवै र शुभ कालिका गाउँपालिकामा पनि पाँचौँ तहका कर्मचारीले कार्यालय प्रमुख भएर कामकाज गदै आएका छन् । कर्मचारी पनि खासै दुर्गममा काम गर्ने मनसाय नराखेका कारणले कालिकोटका ९ वटै स्थानीय तह लामो समयदेखि दरबन्दी अनुसारका कार्यालय प्रमुखविहीन छन् ।

कालिकोटका जनप्रतिनिधि आफू अनुकूलको कार्यालय प्रमुख बनाउन मन्त्रालयसम्म पुग्ने गरेका छन् । केही महिना अगाडि सामान्य प्रशासन मन्त्रालयले खटाएका कार्यालय प्रमुखलाई हाजिर नगराउन जनप्रतिनिधि नै मन्त्रालयमा पुगेर दबाब दिएको पाइन्छ । दरबन्दी अनुसारको कार्यालय प्रमुख पठाउन जानुपर्नेमा फलानोलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकिदिन भनेर जनप्रतिनिधि मन्त्रालय धाउने गरेका छन् । –गोरखापत्र