काँकडभिट्टाबाट १९ करोड बढीको गोलभेँडा नेपाल भित्रियो

काँकडभिट्टाबाट १९ करोड बढीको गोलभेँडा नेपाल भित्रियो


झापा ।

पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको ३ महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०÷८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।

सोही अवधिमा नेपालबाट ९ करोड ६५ लाख ७२ हजार ८ सय मूल्यबराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताउनुभयो । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै रु ३८ करोड ३१ लाख ८७ हजार दुई सयबराबरको व्यापार घाटा भएको छ ।

नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा छन् । यीमध्ये सबैभन्दा बढी रु नौ करोड ५४ लाख ७२ हजार मूल्यबराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिनुभयो ।

यसैगरी तरकारीमा गोलभेँडा रु पाँच लाख १२ हजार मूल्यबराबरको २६ मेट्रिक टन र रु पाँच लाख ८९ हजार मूल्यबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ ।

१९ करोड बढीको गोलभेँडा आयात

चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेँडा मात्रै रु १९ करोड ३७ लाख ४० हजार मूल्यबराबरको नौ हजार छ सय ८७ मेट्रिक टन आयात भएको छ ।

सोही अवधिमा भारतबाट रु दुई करोड सात लाख ८० हजार मूल्यबराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र रु तीन करोड ७१ लाख ८० हजार मूल्यबराबरको एक हजार आठ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ । तरकारीमध्ये मुला र बन्दाकोभीचाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायतका कोशी प्रदेशका जिल्लामा बन्दाकोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ ।