देउराली सहकारीका अध्यक्षले २ करोडको गाडी र १०२ रोपनी जग्गामा लगानि गरेको सीआईबीको निष्कर्ष

देउराली सहकारीका अध्यक्षले २ करोडको गाडी र १०२ रोपनी जग्गामा लगानि गरेको सीआईबीको निष्कर्ष


काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेद बुझाएको हो ।

काभ्रेको चौँरी देउराली घर भएका चौलागाईंलाई ब्युरोले असोज १५ मा पक्राउ गरेको थियो । अध्यक्ष चौलागाईं, ऋण उप–समितिको संयोजक राजेन्द्र खत्री र सिनियर म्यानेजर दीपक केसी अहिले थुनामा छन् ।

ब्युरोले ६५ करोड ७७ लाख ६ हजार ८५३ रुपैयाँ मागदावी लिन र चौलागाईंसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई राय दिएको छ ।

ललितपुरको सातदोवाटो र भक्तपुरको सूर्य विनायकमा कार्यालय रहेको देउराली सहकारीमा बचतकर्ताले जम्मा गरेको २ अर्ब २० करोड ९२ लाख निक्षेप जोखिममा परेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सीआईबीमा ५५० जना निक्षेपकर्ताले दर्ता गराएका २०१ वटा जाहेरीबारे अनुसन्धान गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

निक्षेपकर्ताले जम्मा गरेको रकम हिनामिना गरेर सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले २ करोड ८३ लाख मूल्यको गाडी चढेर हिँड्ने गरेका थिए । उनले चढ्ने गरेको टोयोटाको ल्याण्डक्रुजर ‘टि एक्स’ गाडी प्रहरीले बरामद गरेको छ । सो गाडीको बजार मूल्य अहिले २ करोड ८३ लाख पर्छ ।

सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना गरेर चौंलागाईंको समूहले जग्गा र अन्य कम्पनीमा लगानी गरेको भेटिएको छ । चौंलागाईं र उनका साझेदारले १ सय २ रोपनी जग्गामा लगानी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।