‘नेपाल–भारतबीचका कतिपय सन्धि–सम्झौतामा पुनर्विचार आवश्यक छ’

‘नेपाल–भारतबीचका कतिपय सन्धि–सम्झौतामा पुनर्विचार आवश्यक छ’


नेपालको राजनीतिमा सबैभन्दा बढी चर्चा हुने विषय हो– बाह्य हस्तक्षेप । चीन र भारतजस्ता दुई ठुला देशको बीचमा रहेको नेपालको राजनीतिक परिघटनामा दुवै छिमेकीको चासो हुनु स्वाभाविकै हो । विश्व अर्थतन्त्र र ‘पावर’को मामलामा प्रतिस्पर्धी रहेका चीन र भारतले बीचमा रहेको नेपालका हरेक राजनीतिक गतिविधिमा हस्तक्षेप गर्दै आएको आरोप लाग्ने गरेको छ ।

हरेक राजनीतिक परिवर्तनको संघारमा दुवै देशका उच्च अधिकारीहरूको दौडधुपले पनि यो आरोपलाई सत्य नजिक पुर्‍याउन सघाउँछन् । नेपाल–भारत सम्बन्ध कूटनीतिक मात्रै नभई पारिवारिक र भावनात्मक रूपमा पनि निकै बलियो र पुरानाे छ ।

नेपाल–भारत सम्बन्धबारे अध्ययन गरिरहेकी भारतीय पत्रकार तथा अध्येता इन्द्राणी दास गुप्ता दुई देशबीचको सम्बन्ध मजबुत बनाउन कूटनीतिकसँगै नागरिक स्तरबाट पनि औपचारिक संलग्नता हुनुपर्ने धारणा राख्छिन् । बिपी कोइराला नेपाल–भारत फाउन्डेसनमा फेलोसिप गरिरहेकी उनै इन्द्राणीसँग हामीले नेपाल–भारत सम्बन्धबारे कुराकानी गरेका छौँ ।

नेपाल–भारत सम्बन्धको मूल्यांकन कसरी गर्नुहुन्छ ?

व्यक्तिगत रूपमा भन्नुपर्दा नेपाल मेरो प्रिय र मन पर्ने देश हो । पशुपतिनाथको देशप्रति मलाई अगाध श्रद्धा छ । यहाँ पशुपतिनाथको आशीर्वाद सदैव रहन्छ । नेपालीहरू इमानदार, सहयोगी र पवित्र भावनाका भएको मैले पाएकी छु । भारतलाई आफ्नो सुन्दर छिमेकी नेपालप्रति गर्व छ । मेरो छिमेकी नेपाल बहादुर, उदार र विश्वासिला साथीहरूको देश हो ।

रह्यो दुई देशबीचको सम्बन्धको कुरा । यसलाई व्यक्तिगत रूपमा मूल्यांकन गर्नै सकिँदैन । व्यक्ति–व्यक्तिबीचको सम्बन्धका आधारमा दौत्य सम्बन्धबारे चर्चा गर्नु उचित हुँदैन । जब मैले नेपालबारे गहन अध्ययन गर्न थालेँ, त्यसपछि नेपाल–भारत सम्बन्ध निकै नाजुक रहेको बुझेँ । दुई देशबीच जति मैत्रीय सम्बन्ध हुनुपर्ने हो, त्यसमा केही कमी भएको हो कि भन्ने कताकता लागेको छ ।

फेरि मलाई लाग्छ, हामी (दुई देश) बीच कुनै विवाद छैन । जिटुजी (सरकार–सरकार) सम्बन्ध अझ मैत्रीपूर्ण हुनुपर्छ । आधुनिक नेपाल, आकारमा सानो होला, तर सार्वभौमसत्ताका हिसाबले हामी बराबर हैसियतमा छौँ । त्यसैले भारतले आकारमा ठुलो वा सानो भएका आधारमा कुनै पनि छिमेकीलाई बेवास्ता र भेदभाव गर्न मिल्दैन ।

यसबाहेक नेपाल दुई ठुला देशबीचको एउटा मध्यवर्ती र तटस्थ मुलुक हो । हामीलाई थाहा भएकै कुरा हो, नेपालले आफ्नो रणनीतिक स्थानका कारण आफ्ना नजिकका छिमेकी चीन र भारत दुवैबाट सधैँ दबाबको सामना गरिरहेको छ । चीन र भारतबीच सूक्ष्म ‘पावरगेम कम्पिटिसन’ छ । र, आफ्नो प्रभुत्व देखाउन नेपालको राजनीतिक परिवर्तनमा आ–आफ्नो तरिकाले दबाब सिर्जना गरिरहेको देखिन्छ ।

तपाईंको विचारमा नेपाल– भारत सम्बन्धका चुनौती के के हुन् ? यसलाई कसरी समाधान गर्न सकिन्छ ?

आधुनिक समयको भूराजनीतिमा हामीले हाम्रो द्विपक्षीय सम्बन्धको रणनीतिलाई आधुनिकीकरण गर्नुपर्छ । मेरो व्यक्तिगत विचार र मैले गर्दै आएको पहल के हो भने, हाम्रा पुराना समस्याहरू समाधान गर्न प्रयासको खाँचो छ, त्यसमा मैले मेरा तर्फबाट हुने प्रयास गरिरहेकै छु ।

यस्तै, पञ्चेश्वर र माथिल्लो कर्णाली जलविद्युत् आयोजना पुनः सुरु गर्ने, बंगलादेशसँग भारतीय भूमि हुँदै विद्युत् आदानप्रदान गर्ने सहज बाटो स्वीकृत गर्ने, भारत सरकारलाई अनुरोध गरी व्यापार सन्धि परिमार्जन गर्ने, न्यु जलपाईगुडीदेखि काँकरभिट्टासम्म रेलवे लाइन विस्तार, भारतबाट नेपाल अलैँची, पाम तेल निर्यात गर्न, काली नदी समस्या समाधान गर्न र सहमतिका आधारमा हाम्रो राजनीतिक नक्सा जारी गर्नु जरुरी छ ।

यस्तै, रामायण र बुद्ध धर्मका बारेमा भारत र नेपाल दुवै देशमा व्यापक प्रचार–प्रसार गरिनुपर्छ । यी विषयमा विभिन्न किसिमले भ्रमहरू फैलाइएको छ । यसले द्विदेशीय सम्बन्धमै असर पारिरहेको छ । यसबारेमा जनस्तरसम्मै तथ्य उजागर हुने गरी सूचना प्रवाह गर्नु अति जरुरी छ ।

सामान्यतः सतही सूचनाका कारण धारणा बनाउने प्रवृत्तिले सम्बन्धमा असर पुर्‍याउने गरेको मेरो अनुभव छ । अहिले मसँग भेट हुनेहरूलाई यी विषयमा अध्ययन गर्न सुझाव दिने गरेको छु । यसले सकारात्मक प्रभाव पारेको मैले पाएको छु ।

म बुद्ध धर्ममा हाम्रो सम्बन्ध विकास गर्न चारुमती बौद्ध बिहारसँग पनि काम गरिरहेकी छु । हामी नेपाल र भारतको संयुक्त पर्वतारोहण अभियानको योजना पनि बनाइरहेका छौं ।

कहिलेकाहीँ नेपाल– भारत सम्बन्धका सन्दर्भमा समस्याहरू पनि अनुभव गर्ने गरिएका छन् ? त्यस्ता समस्या बोध गरिनुका कारण के होलान् जस्तो लाग्छ ?

मलाई लाग्छ हाम्रो सम्बन्धमा कुनै ठुलो चुनौती र समस्या छैन । हामी प्राकृतिक सम्पदा र दक्ष जनशक्तिले भरिपूर्ण भूमि हाम्रो छिमेकी नेपालबारे अनभिज्ञ छौँ कि भन्ने लाग्छ । कहीँ समस्या छ भने समाधानको उपाय पनि छ ।

तर, समस्या पहिचान गरेर त्यसको निराकरण गर्नुको सट्टा समस्यालाई झन् बढावा दिएको हो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ । समस्या आफैँ उत्पन्न हुने होइन, व्यक्तिद्वारा, राज्यद्वारा वा अन्य कुनै तत्वले समस्या सिर्जना गर्ने हुन् । त्यसकारण त्यसको सही समाधान खोजेर समस्या सिर्जना गर्ने वा गर्न खोज्नेको आँखा खोल्नु पनि जरुरी छ ।

हो, हामीबीच केही स्थानमा सीमा विवाद छ । यो भनेको हामीले विभिन्न समयमा गरेका सन्धि र सम्झौताको पालना गरेनौँ । यसमा यो वा त्यो भन्नु भन्दा पनि दुवै देशले हाम्रा सन्धिमा पुनर्विचार गर्नुपर्ने संकेत हो ।

हो, पञ्चेश्वर र माथिल्लो कर्णाली जलविद्युत् आयोजना पुनः सुरु गर्नु, बंगलादेशसँग भारतीय भूमिबाट विद्युत् बाँडफाँट गर्ने स्वीकृति, व्यापार घाटामा पुनर्विचार गर्नु र अन्य धेरै संयुक्त उद्यमहरू दुवै देशका जनताका लागि फाइदाजनक विषय हुन् ।

पछिल्लो दिनमा नेपाल– भारत सम्बन्धलाई केले निर्देशित गरे जस्तो लाग्छ, जनस्तरले कि राजनीतिले ? हुनुपर्ने चाहिँ के हो ?

नेपाल र भारतको सम्बन्धमा कूटनीतिमात्रै जोडिएको छैन । यहाँ पारिवारिक र भावनात्मक सम्बन्ध झन् बलियो छ । दुई देशबीचको कूटनीतिक सम्बन्ध भने यति नाजुक अवस्थामा देखिनु साँच्चै दुःखद् छ । यसलाई कूटनीतिक र राजनीतिक तहबाट मात्रै नभई जनस्तरबाटै पनि सुधार आवश्यक छ । दुवै लोकतान्त्रिक मुलुकबीचको सदियौँदेखिको मित्रतालाई अझै मजबुत बनाउन औपचारिक रूपमै संलग्न हुन जरुरी छ ।

तपाईंले त लामो समयदेखि नेपाल–भारत सम्बन्धबारे अध्ययन गरिरहनुभएको छ । खासमा तपाईंको निष्कर्ष के हो ?

म हाल ‘ट्रयाक–२ कूटनीति’ अर्थात् पर्यटनमार्फत् दुई देशको सम्बन्ध विकास गर्न बिपी कोइराला नेपाल–भारत फाउन्डेसन फेलोका रूपमा काम गरिरहेकी छु । सन् २०२४ को मार्चसम्म पर्यटकहरूका लागि अतिथि सत्कार र आवासको व्यवस्था सुदृढ गर्न काम गर्नेछु । पर्यटकका लागि हाम्रा दुई देशका विज्ञापन, प्रदर्शनी, लोकनृत्य, लोकगीत, नाटकको विकास, भारत र नेपालको रामायणको विकास, भगवान गौतम बुद्धको शिक्षाको विकास, पशुपतिनाथ र केदारनाथ धाम दुवैमा भगवान शिवको पंथको विकास गर्दै पर्यटकका लागि जोखिम र दुर्घटनामुक्त यात्राको विकास गर्नु यस फेलोको उद्देश्य हो । हामी दुवै देशका नागरिकलाई स्वस्थ पर्यटनमा काम गर्न आह्वान पनि गरिरहेका छौँ ।

हामी हाम्रो द्विपक्षीय सम्बन्धमा कुनै ‘कन्क्लुजन लाइन’ तान्न सक्दैनौँ । पारस्परिक विश्वास र मित्रतामा आधारित हाम्रो द्विपक्षीय सम्बन्ध विकास गर्न हामी नागरिक र राज्य दुवै जिम्मेवार हुनुपर्छ । नेपालले भारतलाई विश्वास गर्छ भने नेपाललाई भारतले किन विश्वास नगर्ने ?

भारतले नेपालमाथिको आफ्नो आदेश र नियन्त्रण त्याग्न सके मात्रै दुई देशबीचको सम्बन्धमा सुमधुरता आउन सक्छ । नेपालसँग भारतको नीति तथा सन्धिमा पुनर्विचार गर्नु आवश्यक छ भने द्विपक्षीय व्यापारका लागि पनि मैत्रीपूर्ण नीतिको आवश्यकता छ ।

सम्भावित प्रतिद्वन्द्वीहरूविरुद्ध आफ्नो भूमि जोगाउनु कुनै पनि मुलुकको पूर्ण प्राकृतिक प्रवृत्ति हो । हाम्रा दुई मुलुकबीच एक सन्धि भएको छ, जहाँ धारा ५ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि– जब दुई देशबीचको सीमा र क्षेत्रको विवाद उत्पन्न हुन सक्छ, त्यस्तो विवादको निर्णय दुवै देशका कानुनविद्, सरकारी अधिकारीहरू, न्याय र अधिकारका सिद्धान्तका आधारमा समाधान गरिने छ र उक्त सिमानामा एउटा ‘ल्यान्डमार्क’ राखिनेछ, जुन भविष्यमा पनि कायम रहनेछ र दुवै देशका तर्फबाट कुनै अतिक्रमण हुनेछैन ।

१८०१ को सन्धि हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण हिस्सा हो, म अहिले त्यो सन्धिको विषयमा पनि काम गरिरहेकी छु ।