सेवाग्राहीसँग ३० हजार घुस मागेको आरोपमा प्रहरीनै पक्राउ

सेवाग्राहीसँग ३० हजार घुस मागेको आरोपमा प्रहरीनै पक्राउ


बर्दिया ।

सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको आरोपमा नेपाल प्रहरीका एक जना प्रहरी अधिकारी मंगलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी नायब निरीक्षक पवन साउद रहेका छन् ।

बढैयाताल गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए । सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले साउदलाई सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित कार्यालयको मुद्दा शाखाबाट पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।